काठमाडौं-सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमै पहिलो पटक अपांगमैत्री वेबसाइट सुरु गरेको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अपांगमैत्री वेबसाइट सुरुवात गरेको हो। यो वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्युटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिका लागि उपयोगी हुनेछ।
यस वेबसाइटको प्रयोगले अपांगता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ। साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाइनबाट आफ्नो बैंकको सेवासम्बन्धी जानकारी तथा बैंकिङ पहुँच पुर्याउने प्रयास गरेको छ।
यो सुविधा प्रयोग गर्नका लागि सानिमा बैंकको वेबसाइटमा गइ दायाँ कुनामा रहेको डिस्याविलिटी फ्रेण्डली आइकनमा क्लिक गर्नु पर्नेछ। यसबाट ग्राहकले आफूलाई चाहिएको सुविधा अनुसार अप्सन बटनमा क्लिक गरी वेबसाइटको प्रयोग गर्न सक्नेछन्। यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ। समय क्रमसँगै अन्य अपांगतामैत्री सेवासुविधाहरु थप बिस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पुरा गर्ने उद्देश्य रहेको बैंकले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।