काठमाडौं-गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले असार १४ गतेदेखि चुक्ता पुँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले फागुन २१ गतेसम्म कायम शेयरधनीका लागि एक कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ।
कम्पनीले यसअघि चैत २० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने सूचना जारी गरेको थियो। तर कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गर्दा हकप्रद शेयर निष्काशन बन्द गरेको थियो। कम्पनीले साउन ४ सम्म हकप्रद शेयरको बिक्री खुला गर्नेछ।
कम्पनीको हालको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्काशनपछि एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले यसअगाडि नै चुक्ता पुँजी ९२ करोड ८५ लाख रुपैयाँको १३.१० प्रतिशत बोनस शेयर जारी गर्ने घोषणा गरेको छ। हकप्रद शेयर र बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ।
बिमा समितिले एक वर्ष अगाडि नै जीवनबिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्देशन गरेको भए पनि कम्पनीका संस्थापक शेयरधनीहरुले पुँजी जुटाउन नसक्दा हकप्रद शेयर स्थगन हुँदै आएको थियो। हकप्रद निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।