धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले रातो किताब छाप्न नसक्दा प्रदेश सभामा आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि छलफल नै सुरु हुन सकेको छैन।
लकडाउनका कारण बजेट प्रस्तुत भएको एक साता बित्दा पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले रातो किताब छापेर ल्याउन नसकेपछि प्रदेश सभाको बैठकसमेत प्रभावित भएको हो। बजेटको रातो किताब छपाइ भएर आउन ढिलाइ भएकाले आइतबार बिहान ८ बजेका तोकिएको प्रदेश सभाको बैठक सोमबार बिहान ८ बजेसम्मका लागि सारिएको छ।
प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले रातो किताब नआएकाले बजेटमाथि छलफल गर्न बोलाएको बैठक स्थगित गर्नुपरेको बताए। उनले आज (सोमबार) बिहान ८ बजे बस्ने बैठकमा एउटा विधेयकमाथि छलफल हुने जानकारी दिए।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले रातो किताब नछापिएका कारण प्रदेश सभाको बैठक बस्न नसकेर बजेटमाथि छलफल गर्न ढिलाई भएको बताए। उनले सोमबारको बैठकमा स्थानीय तहका पदाधिकारीहरूको सेवासुविधासम्बन्धी संशोधन विधेयकमाथि छलफल हुने कार्यसूचि आएको बताए। उनले आइतबार रातो किताब छापिएर आएको र सोमबार प्रदेश सभा सदस्यहरूलाई वितरण भएपछि बजेटमाथिको छलफल आरम्भ हुने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले रातो किताब छापिसकेको बताए। उनले कार्यक्रम पुस्तिका छाप्न बाँकी रहेको उल्लेख गर्दै छलफललाई सहज बनाउन रातो किताबको पिडिएफ मन्त्रालयको वेबसाइटमा राखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।