एजेन्सी- स्पेनले विदेशी यात्रुलाई आफ्नो देश आउन लगाएको प्रतिबन्ध खुला गरेको छ। स्पेन घुम्न आउन चाहनेहरूका लागि यात्रा अनुमति खुला गरिएकाे हो। तर सबै देशका नागरिकका लागि भने खुला गरिएकाे छैन।
स्पेनले युरोपेली संघ र बेलायतका नागरिकका लागि मात्र खुला गरेको हो। स्पेनमा हरेक वर्ष आठ लाख पर्यटक आउने गरेका थिए भने कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १२ प्रतिशत छ।
नयाँ नियमअनुसार पर्यटन भिसामा स्पेन आउने यात्रुको तापक्रम विमानस्थलमै जाँचिनेछ। उनीहरूबारे कोरोना संक्रमणको जानकारी समेत लिइने बिबिसीले जनाएकाे छ। यात्रुमा कोरोना संक्रमणमा भए/नभएको, भ्रमण तालिका शंकास्पद भए/नभएको यकीन गरेपछि मात्र यात्रुले स्पेन प्रवेशको अनुमति पाउन सक्नेछन्।
स्पेनले कोरोना संक्रमण नियन्त्रणका लागि तीन महिना राष्ट्रिय आपतकाल घोषणा गरेको थियो। हालसालै उसले आपतकाल अन्त्य गरेको हो। आपतकाल अन्त्यसँगै देशभर यात्राका लागि अनुमति दिए पनि सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ।
स्पेनले मार्चको मध्यमा लकडाउन लागू गरेको थियो। युरोपेली देशहरुमध्ये स्पेनको अवस्था नाजुक बनेपछि अहिले कोरोना संक्रमण धेरै नियन्त्रणमा आएको छ। स्पेनमा हालसम्म २ लाख ४५ हजारमा संक्रमण भएको थियो भने संक्रमणबाट २८ हजार जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।