काठमाडौं- नेपाल टेलिकमका कर्मचारीका नाममा रहेको ४५ सय कित्ता सर्वसाधारण सेयर सरकारले आफ्नै नाममा सारेको छ। विभागीय कारबाहीमा परेका, पढ्न विदेश गएर नफर्किएका, तथा विविध कारणले टेलिकमको अनुशासन उल्लङ्घन गरेका कर्मचारीका नाममा रहेको सो सेयर सरकारको नाममा गएको हो।
कर्मचारीहरुले सुरुवाती अवस्थामा खरिद गरेको मूल्य सेयरधनीहरुलाई भुक्तानी गरिएको नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारीले जानकारी दिए। 'यो धेरै अगाडिको विषय हो। अहिले आएर मात्रै सरकारको नाममा गएको हो,' उनले भने।
कम्पनीको नियमअनुसार कारबाहीमा परेका कर्मचारीहरूको सेयर संस्थापक नेपाल सरकारको नाममा जाँदा सरकारको हिस्सा थप बढेको छ। हाल नेपाल नेलिकमकमा नेपाल सरकारको सेयर पुँजी ९१.४९ प्रतिशत रहेको छ। त्यस्तै नागरिक लगानीकोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत रहेको छ। सरकारले नेपाल टेलिकमको सेयर २०६४ साल माघमा बिक्री गरेको थियो। सर्वसाधारणलाई बोलकबोल शैलीमा बिक्री गरेकोमा कर्मचारीहरूलाई भने प्रतिशत ९० रुपैयाँमै बिक्री गरेको थियो।
कर्मचारीको ४५ सय कित्ता सेयरले नेपाल सरकारको सेयर संचरनामा खासै फरक पार्दैन। नेपाल टेलिकमको चुक्तापुँजी १५ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये नेपाल सरकारको १३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणको एक अर्ब २७ करोड रुपैयाँ र नागरिक लगानीकोषको ४५ लाख रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।