एजेन्सी–भारतमा २४ घण्टा अवधिमा करिब २ लाखको कोरोना परीक्षण गरिएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार शुक्रबार १ लाख ८९ हजार ८ सय ६९ जनाको कोरोना परीक्षण गरिएको हो। यो अहिलेसम्मकै धेरै नमुना परीक्षण भएको बताइएको छ।
हालसम्म भारतले ६६ लाख १६ हजार ४ सय ९६ जनाको कोरोना परीक्षण गरेको छ। भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ९५ हजार ४८ पुगेको छ। तीमध्ये २ लाख १३ हजार ८ सय ३१ जना निको भएका छन्।
२४ घन्टामा १४ हजार ५ सय संक्रमित, ३७५ को मृत्यु
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २४ घन्टामा १४ हजार ५ सय १६ संक्रमित फेला परेका छन्। एकै दिन यतिधेरै संक्रमित भेटिएको यो पहिलोपटक हो। यस्तै भारतमा २४ घण्टामा ३७५ जनाको मृत्यु भएको छ। संक्रमणका कारण हालसम्म १२ हजार ९ सय जनाले ज्यान गुमाइसकेका छन्।
दिल्लीका स्वास्थ्यमन्त्रीलाई प्लाज्मा थेरापी
कोरोना पोजेटिभ पाइएपछि अस्पताल भर्ना भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको प्लाज्मा थेरापी गरिएको छ । उनी बुधबार ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए। समाचार एजेन्सी एएनआईका अनुसार मन्त्री जैनलाई आगामी २४ घन्टा आइसीयुमा राखिने छ । सत्येन्द्र जैनमा १७ जूनमा कोरोना पोजेटिभ देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।