एजेन्सी–ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार एकैदिन ५४ हजार ७ सय ७१ थपिएसँगै संक्रमितको संख्या १० लाख ३२ हजार ९ सय १३ पुगेको हो। दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिल सबैभन्दा बढी प्रभावित हो। विशेषज्ञका अनुसार ब्राजिलमा चाँडै अमेरिकाभन्दा बढी संक्रमित हुने संकेत देखिएको छ।
ब्राजिलमा मृत्यु हुनेको संख्या ४८ हजार ९ सय ५४ पुगेको छ। इटालीबाट फर्किएका साओ पाउलोका एक व्यक्तिमा पहिलोपटक गत फेब्रुअरी २६ मा संक्रमण देखा परेको थियो। त्यसको एक महिनामै ३ हजार संक्रमित पुगेका थिए भने ७७ जनाको मृत्यु भएको थियो।
त्यतिबेला राष्ट्रपति जैर बोल्सोनारोले सामान्य रुघाखोकी भन्दै ब्राजिलियनहरुमा प्रतिरोधी क्षमता भएको दाबी गरेका थिए। उनले त्यतिखेर भनेका थिए, ‘ब्राजिलियनहरुलाई कुनै पनि रोगले समात्न सक्दैन, उनीहरुमा रोग फैलाउनबाट रोक्ने एन्टीबडी छ।’
कोरोना भाइरसविरुद्ध मापदण्डलाई लिएर मतभेद बढेपछि ब्राजिलका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।