एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक वैज्ञानिकले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खाेप प्रयोगमा आउसक्ने बताएका छन्। अहिलेसम्म कोरोना भाइरसविरुद्धको खाेप बनिसकेको छैन।
संगठनका वैज्ञानिक सौम्य स्वामिनाथलाई उदृत गर्दै बिबिसी हिन्दीले विश्वभरका २ सय बढी वैज्ञानिक खाेप बनाउने अनेक सम्भावनामाथि काम गरिरहेको र १० वटा परीक्षणमै गइसकेकाले यो वर्षको अन्त्यसम्ममा खाेप बन्न सक्ने उल्लेख गरेको छन्।
'भ्याक्सिन बनाउनु निकै जटिल काम हो। यसमा अनेक आशंका र राम्रो पाटो पनि छ,' स्वामिनाथले भने' हामीसँग कैयौ भ्याक्सिन छन्। यदि हामी एक पटक असफल भयौं भने पनि दोस्रो पटक प्रयास गर्न सक्छौं। हामी हार मान्न सक्दैनौ।'
अहिले खाेप बनाउने प्रयास जुन रुपमा अगाडि बढिरहेको छ, यो गति कायमै रहे यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरस नियन्त्रणमा प्रयोग हुने र त्यसले गम्भीर असर परेका हजारौंको ज्यान जोगाउन सकिने उनले बताएका छन्। खाेप बनेमा पहिला त्यसको प्रयोग कोरोना भाइरस नियन्त्रणको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र दोस्रो सूचीमा गम्भीर संक्रमितको उपचारमा प्रयोग गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।