काठमाडौं- बिमा समितिले कोभिड–१९ बिमालेख बिक्री नगर्न दिएको आफ्नै निर्देशन खारेज गरेको छ। गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बिमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो।
बिमा समिति अध्यक्ष चिरन्जीवी चापागाईंले कोरोना बिमा बजेटमा समावेश गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः बिक्री गर्न स्वीकृति दिइएको बताए। उनले बिमा कम्पनीहरु, पुनर्बिमा कम्पनी, बिमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बिमालेखलाई अगाडि बढाउने सहमति भएअनुसार बिमालेखलाई निरन्तरता दिने निर्णय भएको उल्लेख गरेका हुन्।
अध्यक्ष चापागाईंले अब जारी गरिने कोरोना बिमालेख अनुसार २०७७ चैत मसान्तसम्मको मात्रै जोखिम बहन हुने बताए। यससँगै शुक्रबारदेखि बिमालेख खरिद गर्नेको आगामी चैत मसान्तसम्मका लागि मात्रै बिमा हुने छ। यसअघि जारी भएका बिमालेखहरुमा भने खरिद गरेको मितिले १ वर्षको समयसम्मको जोखिम बहन हुने उनको भनाइ छ।
बिमा शुल्क जम्मा भएअनुसार बिमा पुलमार्फत दायित्व भुक्तानी हुने उनको भनाइ छ। त्यसपछि मात्रै नेपाल पुनर्बिमा कम्पनी, बिमा समिति र सरकारले समेत व्यहोर्ने गरी बिमालेख जारी गरिने उनको भनाइ छ।
नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले १ अर्ब रुपैयाँसम्मको जोखिम बिमा संस्थाहरुबाट हुने बताए। त्यस्तै पुनर्बिमा कम्पनीले १ अर्ब रुपैयाँ जोखिम बहन गर्ने छ। त्यसपछिको ५० करोड बराबरको जोखिम बिमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुने छ भने बाँकी जोखिम बिमा समिति र नेपाल सरकारले बहन गर्ने सहमति भए अनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेको भनाइ छ।
नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले ३५ हजार नागरिक सम्मको जोखिम ब्यहोर्न सक्ने गरी कोरोना बिमालेख पुनः जारी गरिएको बताए। उनले कोरोना बिमाको पुर्नबिमा नहुने भएकाले सरकारको समेत सहभागिता हुने गरी बिमालेख जारी गर्ने सहमति भएको उल्लेख गरे।
निर्जीवन बिमा कम्पनी, पुनर्बिमा कम्पनी र बिमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बिमामा अहिले सम्म ३ लाख २५ हजार नागरिक सहभागि भएका छन्। बिमा समितिका अध्यक्ष चापागाईंले अहिले सम्म ३० अर्ब भन्दा माथिको बिमा जोखिम पुगेको बताए । अब जारी गरिने बिमाको कटअफ समय चैत मसान्त सम्म हुने छ भने यस अघि खरिद गरेकाको हकमा भने पुरै एक वर्ष सम्म रहने अध्यक्ष चापागाईको भनाइ छ।
बिमा समितिले बिमाङ्क रकमको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरी घातक रोगसरहको बिमालेख अनुसार हुनेगरी कोभिड–१९ बिमालेख जारी गर्ने व्यवस्था गरेको थियो। ‘क’ वर्गको बिमालेखमा १ लाख रुपैयाँको बिमाङक रकम हुने र उक्त बिमाका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवार वा समूहको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले बिमा शुल्क लाग्ने छ। यस्तै ‘ख’ वर्गकोमा बिमाङक रकम ५० हजार रुपैयाँ तोकि प्रति व्यक्ति ५ सय रुपैयाँ र परिवार वा समुहको बिमा गर्दा प्रति व्यक्ति ३ सय रुपैयाँका दरले बिमा शुल्क लाग्ने छ। यस्तै क्षतिपूर्ति दाबीका लागि बिमा सुरु भएको १५ दिनसम्म प्रतीक्षा गर्नुपर्ने छ भने भुक्तानी दाबीका लागि पिसिआर प्रविधिबाट गरिएको रिपोर्टमा कोरोना पोजेटिभ हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।