काठमाडौं- महान्यायाधीवक्ता अग्नि खरेलले चौरजहारी घटनालाई बिग्रिन नदिने बताएका छन्। उनले विगतमा कतिपय घटना बिग्रिएका कारण निष्कर्षमा पुग्न कठिन भएको उल्लेख गर्दै यो घटनालाई भने बिग्रन नदिने बताएका हुन्।
संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले मंगलबार गरेको छलफलमा खरेलले घटनाको यथार्थ छानबिन गर्ने प्रतिबद्धता जनाए।
यो प्रकरणमा कसैको भनसुन नलाग्ने उनले प्रष्ट पारे। जिल्लामा अनुसन्धानका लागि गएका प्रहरी तथा अधिकृतलाई विभिन्न नेताहरुले अनेक किसिमले भनसुन गरिएको भन्दै उनले त्यो काम नलाग्ने बताए। ‘उहाँहरुलाई विभिन्न नेताहरुको फोन आइरहेको छ। उहाँहरुलाई मैले भनेको छु- जसको भनसुन आए पनि मलाई कल डाइभर्ट गरिदिनुस्। म कुरा गरौंला’, खरेलले भने, ‘उहाँहरुलाई मैले निर्धक्क भएर छानबिन गर्न भनेको छु।’
यस्ता मुद्दा अलिकति मात्रै तलमाथि भएमा जटिल बन्ने कुराको विगतमा पाठ सिकिसकेको भन्दै त्यस्तो हुन दिनुनहुने बताए। यो विषयमा सबै सचेत बन्नुपर्ने उनले बताए।
घटनाको सन्दर्भमा अनुसन्धानको काम भइरहेको भन्दै यथेष्ट प्रमाण बाहिर आउने विश्वास दिलाए।
त्यस्तै प्रहरी प्रमुख ठाकुर ज्ञवालीले घटना विवरण प्रस्तुत गरेका थिए। उनले पाँच जनाको शव भेटिएको, २० जना विरुद्ध जाहेरी परेको, १८ जना पक्राउ परेको तथा बाँकीको खोजी कार्य चलिरहेको जानकारी सांसदहरुलाई गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।