आज मे ३१, विश्व सूर्तीजन्य पदार्थरहित दिवस सबैमा शुभकामना।
१) बाल्यकालका केही घटनाहरू जुन जिवनभर बिर्सन सक्दिन, लमजुङमा मेरो संयुक्त परिवारले धेरै काचो पात खेती गर्थ्यौं। त्यो काटिसकेपछि म सुत्ने खोपी अगाडि राख्ने गरिथ्यो, त्यसको सारै नमिठो गन्ध, सधैं चितवन जाने त्यो माल कहिले चितवनबाट मानिस आउला र लिई जाला भनेर हेरेर बस्ने गर्दथें। त्यही ताका विद्यालय बिदा हुँदा मेरो कामको भाग एक हल गोरु हेर्ने/चराउने हुने गर्दथ्यो। ती हल गोरुलाई म काचोपात खेती भएको ठाउँमा जानीजानी चराउन लैजाने गर्दथें। खेदी खेदी त्यतै लाने गर्दथें, मनमनै यो सबै काँचोपात गोरूले खाइदिएमा कम्तीमा २ महिना सुत्ने ठाउँ अगाडि हुने गरेको काँचोपातको गन्धबाट मुक्ति त मिल्थ्यो भन्ने लाग्थ्यो तर गोरु भने काँचोपात लगाएको बारी देख्नेबित्तिकै पुच्छर उठाएर बुर्कुसी मारेर भाग्ने गर्थे। पछि मलाई दु:खका साथ हुर्काउने मेरो हजुरआमाले क्यान्सर रोगले गर्दा अकालमा मृत्युवरण गर्नुभयो। अन्तिम अवस्थामा चिकित्सकले मर्फिन दिँदा पनि पीडाले कराउनुहुन्थ्यो। उहाँहरू कक्कड खानुहुन्थ्यो। घरमा स्वदेश र विदेशबाट आउने पाहुनाले चुरोट उपहार ल्याउने गर्दथें।
२) कानुन पढ्दा थाहा लाग्यो यो गोरूले पनि नखाने र देख्ने बित्तिकै भाग्ने चिज सुर्तीजन्य पदार्थ रहेछ, यसको सेवनले प्रतिवर्ष मानिस मर्दा रहेछन्। यो त सरकार आफैंले नागरिकबाट उठाएको करबाट जनकपुर चुरोट कारखानालाई प्रतिवर्ष ३०-४० करोड रकम अनुदान दिँदै आएको रहेछ। देशको शासन गर्ने राजाका परिवारकै सुर्तीजन्य कम्पनी रहेछ। मेरो परिवारका सबै उनीहरूको उत्पादनको उपभोक्ता हुँदा अकालमा तड्पी तड्पी मर्नु परेको रहेछ।
३) मेरोमात्रै होइन रहेछ, विश्वमा प्रत्येक वर्ष ८.२ मिलियन मानिस सुर्तीजन्य पदार्थको कारणले मर्ने रहेछन्, जसमध्ये ७ मिलियन मानिस सुर्तीजन्य पदार्थको प्रत्यक्ष उपभोक्ता हुन् भने १.२ मिलियन मानिस भने अरूले उपभोग गरेकोबाट प्रभावित भएर मरिरहेका छन्। यी सबैमा ८०% निम्न आय भएका मानिस छन्।
४) शायद यिनै कारणले हुनसक्छ उपभोक्ता क्षेत्रमा काम गर्न थालेपछि मेरो र मञ्चको पाइला पनि फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसी) तिर लाग्यो। मलाई र उपभोक्ता हित संरक्षण मञ्चलाई यो अभिसन्धिको कार्यान्वयनमा, राष्ट्रिय कानुन सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऎन नियम तर्जुमामा, कानुन कार्यान्वयनका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरी कार्यान्वयनमा सहजीकरण गर्न र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन पवित्र काममा लाग्ने, लगाउने र सहयोग गर्ने सबैप्रति मञ्च र मेरो तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं।
५) सन् २०१४ आजकै दिन मञ्च र मेरा लागि विशेष दिन रह्यो। दक्षिण पूर्वी एसियाको तर्फबाट कुनै एकलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सम्मान गर्दै थियो नेपालबाट मञ्च र मेरो नाम प्रस्तावित रहेछ। सन् २०१४ मा आजैको सेरो रिजनबाट डब्लूएचओ नो टोबाक्को डेको अवसरमा सम्मानित हुनेमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल पनि पर्यो। यो देशकै लागि गर्वको कुरा थियो। त्यसपछि आजसम्म यो सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनलाई मञ्चले विशेष कामको क्षेत्रको रूपमा अगाडि बढाइरहेको छ।
६) उपभोक्ता हित संरक्षण मञ्चलाई यो काममा प्रोत्साहित गर्ने सम्मानित सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय, नेपाल अर्वुद रोग निवारण संस्था, लीलामणि पौडेल, डा प्रवीन मिश्रलगायत सबैलाई आज हार्दिक आभार प्रकट गर्दछौं।
७) नेपालमा अझै एफटिसी महासन्धिको १७ वटा विषयहरू कार्यान्वयन गर्न बाँकी छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपाल विगत जसैगरी सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं।
ज्योति बानियाँ, अध्यक्ष, उपभोक्ता हित संरक्ष मञ्च नेपाल
(बानियाँ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।