काठमाडौं- जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ मा भएको घटनाको छानविन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा बोल्दै राय सहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराए।
गृहमन्त्री थापाले घटनाबारे संसदलाई गराएको जानकारी अनुसार रुकुम पश्चिम चौरजहारी-८ मा वीरबहादुर मल्लकी छोरी भगाउन जाजरकोट भेरी नगरपालिका-४ का युवाहरु जेठ १० साँझ गएका थिए।
घटनाबारे सदनलाई जानकारी गराउँदै गृहमन्त्री थापाले भने, 'प्रेम सम्बन्धमा परेका विकले केटीलाई भगाउने क्रममा दुई पक्षबीच झैझगडा भएको थियो। केटी पक्षले युवती भगाउन आएका युवाहरुको समूहलाई भेरी नदीतर्फ लखेटेका थिए।'
केटी पक्षले लखेट्ने क्रममा मृत्यु भएका नवराज विकको शव जेठ १० को राति १० बजे भेरी नदीको बीच भागमा फेला परेको गृहमन्त्री थापाले जानकारी गराए। भोलि पल्ट टीकाराम सुनारको शव भेरी नदीमा फेला परेको थियो। मृतकमध्ये तेस्रो व्यक्ति गणेशबहादुर बुढाको शव सोमबार भेरी नदीमा भेटिएको थियो।
भगाउने कार्यमा सहभागी भएको आरोपमा १२ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको गृहमन्त्री थापाले जानकारी गराए। पक्राउमा परेकाहरुमा युवती सहित उनका बुबा/आमा, वडाअध्यक्ष डम्बरबहादुर मल्ल सहित सन्तोष मल्ल, रमेश मल्ल लगायत छन्।
केटा पक्षका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आफन्तलाई बुझाएको थापाले जानकारी गराए। लोकेन्द्र सुनार,गोविन्द शाही,सन्जु विक हालसम्म वेपत्ता भएको थापाले जानकारी गराए।
जरकोट र रुकुम पश्चिमबीच सद्भाव कायम गर्न दुई जिल्लाले समन्वयात्मक कार्य गरेको उनले सदनलाई जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।