कोरोना भाइरसका कारण विश्व आक्रान्त छ। हजारौं नेपाली विदेशी भूमिमा अलपत्र छन्। सीमा नजिकै आइपुगेर पनि अलपत्र बन्न बाध्य नेपाली श्रमिकलाई सरकारले अझै उद्धार गर्न तदारुकता देखाएको छैन। माडी नगरपालिकाले सीमित स्रोत–साधनका बीच माडी बाहिर रहेका यहाँका श्रमिकहरुको उद्धार गरिरहेको छ। विदेशी भूमिमा अलपत्र माडीबासीहरुको उद्धार गर्न ठूलो चुनौती छ। तरपनि माडी नगरपालिकाको नेतृत्वले प्रयास गरिरहेको छ।
पहिलो चरणमा विदेशमा रहेका माडीबासीहरुको तथ्याङ्क संकलन कार्य सम्पन्न गरी नगर तथा वडास्तरमा माडीका ९ वटै वडामा १२ वटा क्वारेन्टाइन बनाइएको छ। नगरस्तरीय स्वास्थ्यकर्मीको टिम माडीभर खटिरहेको छ।
श्रमिकको उद्धार गर्ने क्रममा माडी नगरपालिकाको टोली मेयर ठाकुरप्रसाद ढकालसहित रातबिरात नेपाल–भारत सीमामा पुग्यो। जहाँ यहाँका युवा अलपत्र थिए। तर नेपाली सीमा सुरक्षा बलको अमानवीय कार्यले पीडितलाई झन् पीडा थपेको छ। उद्धार गर्न गएको स्थानीय तहको टोली हतोत्साहित बनेको छ।
भारतमा लकडाउनपछि मुम्बईमा कार्यरत माडीका २१ जनासहित २४ जना नेपाली माडी नगरपालिकाको नियमित सम्पर्कमा रहँदै स्वास्थ्य परीक्षण गरेर बसमा आइतबार भिखनाठोरी सीमासम्म आइपुगेका थिए। उनीहरूलाई माडी प्रवेश गराउन बस, स्वास्थ्यकर्मीको टोली र उनीहरूलाई राख्ने क्वारेन्टाइनको व्यवस्थापन भइसकेको थियो।
मेयर ठाकुरप्रसाद ढकालले जिल्लास्थित सिडिओसँग परामर्श गर्नुभयो। बोर्डरमा आएका आफ्ना नागरिकलाई सम्बन्धित पालिकाले जिम्मा लिएर ल्याउन सक्ने सहज बाटो हामीले बुझ्दै–सुन्दै अनि देख्दै आएका थियौं। सम्बन्धित भारतीय अधिकारीसमेतको सहमतिमा बुधबार उनीहरूलाई माडी ल्याउने व्यवस्था मिलाइएको थियो।
मेयरले सीमापारीको क्वारेन्टाइनमा राख्दा संक्रमणको झनै जोखिम बढ्ने हुँदा माडी नै ल्याएर क्वारेन्टाइनमा राख्दा सुरक्षित हुने भएकाले छोटो प्रक्रियागत बाटो खोज्न सिडिओलाई सुझाउनुभयो। यता, नियमित सम्पर्कमा रहेका ती भिखनाठोरी आएका माडीबासीलाई सिडिओसँग भएको परामर्श र पहलकदमीका बारेमा जानकारी गराउँदै नआत्तिकन सुरक्षित बस्न अनुरोध गरियो।
नेपाली पक्ष सीमासम्म मात्र पुगे हुने र त्यहाँसम्म भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले ल्याइदिने खबर आयो। सहजता र व्यवस्थापन गर्नका लागि मेयर ढकालले माडी प्रहरीलाई भन्नुभयो। सीमाबाट लिएर आउनका लागि तयारी अवस्थामा रहेको नगरपालिकाको टोलीलाई हिँड्ने तर्खर गर्न निर्देशन दिनुभयो। हामीले सहज होस् भनेर ती माडी आउँदै गरेका युवाहरुको सम्पर्क नम्बरलगायत सबै जानकारी तथा सूचना प्रहरीलाई दियौं। प्रहरीलाई कहाँबाट के निर्देशन थियो वा आन्तरिक सर्कुलर के थियो? थाहा भएन तर विषय झनै जटिल बन्दै गयो।
हामीले धेरै ठाउँमा धेरै प्रयास गर्यौं। उता एसएसबीले हामीसँगको कुराकानीमा साँझ खाना खुवाएर सीमा पठाइदिने बताउँदै लिन आउन भनेका थिए। तर नेपाल प्रहरीले प्रक्रिया पूरा गरेर बुधबारमात्रै ल्याउन सकिने जानकारी गरायो। यदि ती युवाहरू सीमावारी आइहाले भने सुरक्षित ढंगले राख्न अनुरोध गर्दै सीमा सुरक्षामा रहेका प्रहरी निरीक्षक दीपक दाहाललाई युवाहरुको सम्पर्क नम्बर पनि दियौं। ती प्रहरी निरीक्षक दाहालको कुराकानी अनि सिमापारी एसएसबीसँग उनीहरुले गरेको कुराकानी सुन्दा सहज प्रक्रियालाई झनै जटिल बनाइरहेको हामीले महसुस गरेका थियौं। हामीले सबैकुरा ठिकै होला भनेर आशा लिन भने छोडेनौं।
लिन जाने तयारीमा बसेको टोलीलाई नजाने जानकारी गराई साँझ परिसकेकाले मेयर आफ्नो निवासतिर लाग्नुभयो। हामी पनि आ–आफ्नो बाटो लाग्यौं। दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेयरकै कार्यकक्षमा बसेर मेयरसहित वडा नं. ९ का अध्यक्ष शिवहरि सुवेदी, वडा नं. ५ का अध्यक्ष रामबन्धु पोख्रेल, इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मा अनि मसहित भएर माथि उल्लेखित कुराहरु गर्दा झमक्कै साँझ परिसकेको थियो। वडा नम्बर ५ का वडाध्यक्ष रामबन्धु दाइले फोन गर्नुभयो, 'भाई तिमी कहाँ हो? उताबाट केटाहरुले रुँदै फोन गरेका छन्।'
एसएसबीले तिमीहरुलाई लिन तिम्रो मान्छे आएनन्। अब नरकटियागञ्जमा १७ सयजनाभन्दा बढी बसिरहेको क्वारेन्टाइन छ, त्यहीँ पठाइदिन्छौं तर त्यहाँ तिमिहरू झनै सुरक्षित छैनौ भन्यो। 'उनीहरू नरकटियागञ्ज जानुभन्दा त बरु यहीँ आत्महत्या गर्छौं भनेर बिलौना गरिरहेका छन्। अब के गर्ने?,' रामबन्धु दाइले सोध्नुभयो। रामबन्धु दाइ बसन्तपुरको चौरमा हुनुहुन्थ्यो म त्यहीँ पुगिहालें।
नियमित सम्पर्कमा रहेका ती लामिछाने थरका युवालाई हामीले फोन गर्यौं। फोन गर्नेबित्तिकै उनी भक्कानिन थाले। उनले भने, 'हामी अभिभावकविहीन जस्तै भयौं। कम्तीमा तपाईंहरु आइदिनुहोस्। एसएसबीले पठाइदिन्छौं भनेको छ। यदि पठाएन भने पनि कम्तीमा आउनु त भएको थियो नि भनेर हामीलाई हिम्मत बढ्छ।' त्यसपछि हामीले ती एसएसबी जवानलाई फोन दिन भन्यौँ। उनले हामीसँग कुराकानीमा अब खाना खुवाउन लागेको हो। खाना खुवाएर हामी सीमापारी पठाइदिन्छौं, तपाईंहरु लिएर जानुहोस्' भने। नेपाली बुझ्ने ती जवानले फोनमा दिउँसैबाट जुन सदाशयता देखाइरहेका थिए, त्यो दोहोर्यायौं। 'हामीले हुन्छ पठाइदिनू हामी लिन आउँछौं' भन्यौं।
वीरगञ्जमा रहनुभएका आदरणीय पत्रकार दाजु गोविन्द देवकोटासँग दिउँसोबाटै सहजताका लागि परामर्श गरिरहेको थिएँ। उहाँले सहयोग गरिरहनुभएको थियो। देवकोटालाई फोन गरेर सबै रिपोर्टिङ गरें। उहाँले लिन जान सुझाउनुभयो। त्यसपछि ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठलाई फोन गरें। सहयोग आदान–प्रदानका सन्दर्भमा उहाँसँग बेला–बेलामा मेरो फोन भइरहने हुँदा समन्वय गर्न आग्रह गरे। मेयर ढकालसँग पनि श्रेष्ठको संवाद भइरहेको थियो। यसअघि पनि ठाकुर दाइले फोन गर्नुभएको थियो। दिउँसो मैले पनि धेरै नै प्रयत्न गरें। पर्सा जिल्लाकै भएको भए त भर्खरै सहजै ल्याउन सकिन्थ्यो, मैले माथी कल गर्दा पनि त्यही भनें। चितवनको भएर अलिक अप्ठेरो भयो। त्यही पनि म सशस्त्रको प्रहरी निरीक्षक दाहाललाई फेरि एकपटक कुरा गर्छु भन्नुभयो। उतिखेरै श्रेष्ठको मलाई कलब्याक आयो। तर प्रहरी निरीक्षक दाहाल तयार भएनन्।
हामी सल्लाह–परामर्श गर्दै थियौं। त्यहीबीचमा फेरि भारतमा अलपत्र परेको समूहका एक युवाले फोन गरे। 'नेपाली सीमा सुरक्षा बल ठोरीका प्रहरी निरीक्षक दाहालले फोन गरेर नेपाल आउन पाउँदैनौं। सीमावारी आए गोली ठोक्दिन्छु' भनेर धम्कायो। हामीलाई असह्य भयो।’ लगत्तै मेयर ढकाललाई फोन गरियो। आफ्नो निवास बरुवा पुगेर ड्रेस चेन्ज गर्न नपाउँदै ती युवाहरुलाई अभिभावकविहीन हुन नदिने भन्दै आफ्ना नागरिकप्रति जिम्मेवारी बोध गर्दै मेयर ढकाल घरबाट मोटरसाइकल लिएर निस्कनुभयो। बसन्तपुर नगरपालिका अफिस आउने बेलासम्ममा उहाँले जानकारी गराउनुपर्ने सबै निकायमा जानकारी गराई ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्मालाई ठोरी जानका लागि तयारी अवस्थामा रहन भन्नुभयो।
मेयर ढकालले बसन्तपुर आइसकेपछि मलाई फोन गर्नुभयो। वडा अध्यक्ष रामबन्धु पोख्रेल, डा. शशि टण्डन, कृषि शाखा प्रमुख किरण पौडेल, स्वास्थ्य शाखाका गोविन्द पौडेलसँगै थियौं। दिउँसो ठोरी जान हाईअलर्ट हुन टोलीलाई खबर गर्यौं र अगाडि बढ्यौं। हामी सबै जना बगईमा जम्मा भयौं। ती माडीबासी युवाहरुलाई एसएसबीले सिमावारि पठाइदियो भने लिएर आउने। पठाएनछ भने पनि कम्तीमा लिन आएका थिए भनेर तिनीहरूको आत्मबल त बढ्छ भनेर।
रातको ९ बजेर ५५ मिनेट जादा बगईबाट मेयर ढकाल, वडा नं. ९ का अध्यक्ष शिबहरि सुवेदी, वडा नं. ५ का अध्यक्ष रामबन्धु पोख्रेल, नेपाली सेना बगईका मेजर, माडीका प्रहरी प्रमुख, सशस्त्रका प्रहरी निरीक्षक थकाली थारू, माडी नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीसहितको हाम्रो टोली ठोरीतर्फ हिँड्यो। हामीलाई दिनभरको प्रयासले एसएसबीले उनीहरूलाई सीमावारी पठाउने विश्वास थियो, तर हामीसँगै हिँडेको सुरक्षाकर्मीको टोलीले पत्याइरहेको थिएन। हामी गाडीसहित ठोरीको चौतारासम्म पुग्दा ११ बजिसकेको थियो। उताबाट ती युवाहरुको फोन आयो। 'हजुरहरु कहाँ आइपुग्नुभयो? हामीलाई त ८ बजेतिर नै एसएसबीले सिमावारि पठाइदिएको हो। हामी २४ जनासँगै यही नेपालको खोला छेउको चौरमा बसिरहेका छौं,' ती युवाले बिलौना गरे।
'नेपाली सशस्त्र प्रहरीले हामीलाई केही गर्दैन नि,' उनीहरुको प्रश्न थियो। हामीलाई विश्वास थियो- केही गर्दैन। किनकि दिउँसोदेखि नै कुरा भइरहेको थियो। 'सबै कुरा भएको छ। ढुक्कसँग बस्नू। केही नि गर्दैनन्,' हामीले भन्यौं। त्यो चौरबाट सशस्त्रको क्याम्प १०० मिटर जतिको दूरीमा छ। साँझ ८ बजेबाट मध्यरात १२ बज्न लाग्दासमेत सहयोगका लागि न त सशस्त्रले उनीहरुको खोजीनीति गर्यो, न त खुला चौरमा बसेका तिनीहरूप्रति दृष्टि दियो।
हामी दुई जनालाई दिउँसोदेखि नै सुरक्षाकर्मीको हर्कत देख्दा शंका लागिरहेको थियो। उहीँ पुगेपछि मात्रै थाहा दिने पो हो कि? भन्ने पनि लागिरहेको थियो। 'तर हैन, यो फरक जिल्ला हो। सिस्टममै जानुपर्छ' भनेर मेयरले हामीसँगै गएका सुरक्षाकर्मीलाई जानकारी गराउँदा यो कसरी संम्भव भयो भनी आश्चर्यचकित थिए। त्यसपछि सबैले आ–आफ्नो च्यानलमा खबर गरे। मेयरले चितवनका सिडिओलाई जानकारी गराउनुभयो। त्यही रातको ११:२० जति बजेको थियो। सिडिओले 'हुन्छ मास्क, ग्लोब्स, पिपिई लगाएर सुरक्षित तवरबाट ल्याउनुहोस्' भन्नुभयो। हामीसँग गएको सुरक्षाकर्मीको टोलीले सीमा सुरक्षाका लागि ड्युटीमा रहेका तिनै प्रहरी निरीक्षक दीपक दाहाललाई पनि खबर गरे।
हामी ठोरी चौताराबाट बोर्डरतर्फ अगाडि बढ्यौं। प्रहरीको गाडी हामीभन्दा अगाडि थियो। हामी दोस्रोमा। हामी पछाडि स्वास्थ्यकर्मीको गाडी थियो। त्यसपछाडि बस थियो। जब प्रहरी निरीक्षक दाहाललाई खबर भयो। उनीहरु सिमावारी आए भने सुरक्षित तवरबाट राख्न समन्वय गर्नका लागि भनेर मोबाइल नम्बर दिइएको थियो।
प्रहरी निरीक्षक दाहालले सिमावारी आइसकेका ती युवाहरुलाई फोन गरे। कहाँ हो तिमीहरु? पक्कै पनि हामीलाई उद्धार गर्नकै लागि होला भन्ठाने अनि फोन उठाए। 'हामी यही खोला छेउको चौरमा छम् सर।’
‘तिमीहरु तुरुन्तै त्यहाँबाट भारततिरै जाओ नत्र गोली ठोक्दिन्छु,' इन्सपेक्टर दाहालले फेरि पनि धम्की दिन थालेछन्।
त्यसपछि तिनीहरूले हामीलाई फोन गरे। हामीले 'सबैसँग कुरा भएको छ केही नि गर्दैनन्। हामी आउँदैछौं' भन्यौं। भारततिरै जान धम्काइरहेको विषयमा हामीसँगै गएका सुरक्षाकर्मीलाई जानकारी दियौं। 'हामी आउँदैछौं' भनेर भन्नुहोस् भन्यौं। हामी अगाडि बढ्दै थियौं। हामीलाई स्कटिङ गरिरहेको हाम्रो सुरक्षाकर्मीको गाडीले मूलबाटो छोडेर भित्री बाटो हिँडाइरहेको थियो। तरपनि सुरक्षाकर्मीप्रतिको हाम्रो विश्वास जीवितै थियो। हामीलाई निरन्तर ती युवाहरुको फोन आइरहेको थियो।
'हामीलाई यहाँको हाम्रो सशस्त्रले धम्काइरहेको छ। हामीलाई लाठीले घोचिरहेको छ। भारतीय एसएसबीलाई बोलायो। हामीलाई सशस्त्रले धकेलेर खोलामा झार्यो। एसएसबी पनि यहीँ आयो। हाम्रो सशस्त्र र एसएसबीले गोली ठोक्दिन्छु भन्दै धकेलिरहेका छन्। मेयर आउँदै हुनुहुन्छ। नजिकै आइसक्नुभयो,' हाम्रो सीमामा रहेको सशस्त्रले गरेको हर्कत सबै फोनमा सुनिन्थ्यो।
हामीले ती युवाहरुलाई त्यही रोकिन भन्यौं। हामी अगाडि बढ्दै थियौं। इलाका प्रहरी कार्यालय, ठोरी अगाडि आएपछि हामीलाई स्कटिङ गरिरहेको गाडी हामीलाई जानकारी नदिई कार्यालयको हाताभित्र मोडियो। हामी अचम्मित भयौं। पीडित युवाहरुको फोन निरन्तर आइरहेको थियो। हामी प्रहरी हाताभित्र नछिरी सिधै बोर्डरतिर हुइँकियौं।
बोर्डर नजिकै सशस्त्रको क्याम्प भएको ओरालोमा पुगेपछि ती युवाहरुले 'ऊ गाडी आयो, हाम्रो मेयर आउनुभयो' भनेर चिच्याइरहेका थिए। अँध्यारो थियो। सशस्त्रको क्याम्प अगाडि डिलमा बसेर भारततिर हाम्रा युवाहरुलाई लखेटेको हेरेर बसिरहको आकासे कलरको गन्जी र कट्टु लगाएको एक व्यक्ति थियो। अनि अर्का चाहिँ सशस्त्रका जवान।
हामी गाडीबाट झर्यौं। हाम्रो मेयरले उनीहरुलाई फिर्ता बोलाउन आग्रह गर्नुभयो इन्पेक्सटरसँग। तर उनीहरूले टेरेनन्। बरु उनीहरू नै हामीलाई लखेट्न उद्यत भए। मेयर ढकाल खोलातिर झर्न खोज्नुभयो। मैले मोबाइलको टर्च बालेर इसाराले बोलाइरहेको थिएँ। रामबन्धु दाइ अनि शिवहरी सर पनि चिच्याउँदै हामफाल्न खोजिरहनुभएको थियो। त्यतिखेरसम्म नेपाल-भारत सीमामा जुन खोला छ, लखेट्दै ठिक त्यसको बीचमा पुर्याइसकेको रहेछ। कट्टु लगाएका व्यक्ति त्यतिबेलासम्म केही रेस्पोन्स नगरी डिलमै उभिरहेका थिए।
'उहाँ माडी नगरपालिकाको मेयर हो। खै तपाईंहरुको प्रहरी निरीक्षक? मैले प्रश्न गरें।
'उहाँ हाम्रो डिएसपी साप,' ती सशस्त्रका जवानले भने।
हामीले बल्ल चिन्यौं। डिलमा बसेर नेपाली युवालाई विदेशी भूमिमा लखेट्नेको कमान्डर हुनुहुँदो रहेछ भनेर। लगत्तै ती डिएसपीले सशस्त्र क्याम्पमा रहेका जवानलाई सबै तयार हुन भन्दै फोन गरे। पछि थाहा भयो- नेपाली युवा लखेटिरहेका जवानलाई हामी आएको देखेर फिर्ता बोलाएका रहेछन्।
खोलामा कहाँबाट झर्ने भन्नेमा त्यो ठाउँका लागि प्रायः सबै अन्योलमै थियौं। म पनि धेरै समयपछि ठोरी पुगेकाले ठम्याउन गाह्रो भयो। केदारले गाडी घुमाएर खोलातिर गाडीको फोकस लाइट तेर्स्याए।
अगाडि बढ्दै गर्दा हामीसँगै जानुभएका प्रहरी निरीक्षक विश्वकर्मालाई फोन गरेर तुरुन्तै आउन भनें। मेयर ढकालले नेपाली भूमिमा आइसकेको युवाहरुलाई एसएसबी बोलाएर लखेट्ने काम तुरुन्त बन्द गरी उनीहरूलाई फिर्ता बोलाउन आग्रह गर्नुभयो।
'गोली ठोक्ने भए मलाई ठोक्नुस्,' भन्दै उहाँ खोलातर्फ अघि बढ्नुभयो। हामी पछिपछि थियौं। अन्धकार थियो। हातको टर्च मान्छे त्यहाँ रहेछ भन्ने अनुमान गर्ने आधार थियो। हामी खोलामा झर्दै गर्दा ५-६ जना हातमा लौरो लिएका सशस्त्रका जवानहरु फर्किए।
एसएसबीले युवाहरुलाई आफ्नो क्याम्प नजिकै पुर्याएको थियो। हामी सशस्त्रको क्याम्पतिर अघि बढ्यौं। हाम्रा स्वास्थ्यकर्मीको गाडी पनि आइपुगेको थियो।
'हामीले समन्वय गर्दागर्दै पनि यस्तो निकृष्ट काम गर्ने? नेपाली युवाहरुलाई लखेट्न लगाउने?,' मेयर ढकालको प्रश्न थियो। शैली आक्रोशको।
त्यहाँको सशस्त्रले चोखिने कुरा गर्न थाल्यो। तर हामीले गरेको विश्वासमा यस्तो अक्षम्य अन्तरघात गर्छन् भन्नेमा हामीलाई अलिकति पनि विश्वास थिएन। रातको साढे १ बजिसकेको थियो। ती नेपाली युवाहरुसँग फोन सम्पर्क भइरहेको थियो। अहिले पनि तेरो त्यहाँको सशस्त्रले भन्यो भने हामी छोड्दिन्छौँ भनेको छ भनेर खबर आइरहेको थियो। हामीले डिएसपी अनि प्रहरी निरीक्षक दाहाल दुवैलाई अनुरोध गर्यौं तर टेरपुच्छर लाएनन्। आफ्नै अगाडि त्यो हदसम्मको क्रुरता देख्नुपर्दा हामीलाई हदैसम्मको आत्मग्लानी भयो।
भिडियो
तर पनि हिम्मत मरेको थिएन। ती २४ जनालाई लिएर फर्कने प्रण गर्यौं। रातको ३ बजे चौतारामा आएर बस्यौं। बिहानै अनेक उपायका विषयमा विभिन्न पक्षसँग परामर्श गर्यौं। पर्सा जिल्लाको सिडिओसँग मेयर ढकालले आफैं कुराकानी गर्नुभयो। पर्साको सिडिओले मेयरलाई 'तपाईं त्यही चौतारातिरै बस्नू, मैले कुराकानी गर्न त्यहाँ हाम्रो मान्छे पठाएको छु। तपाईं जानुपरे खबर आउँछ नत्र मान्छे लिन गाडीमात्रै पठाउनुहोला' भन्नुभयो।
हामीलाई केही आशा पलायो। तर जब कुरा गर्न प्रहरी निरीक्षक दाहाल स्वयं गएको थाहा भयो। फेरि हामीमा शंका पैदा भयो। १० बजेभित्रमा तेरो मान्छे लिन आयो भने हामीले पठाइदिन्छौं भनेर एसएसबीले भनेको कुरा हामीलाई ती युवाहरूसगँको आज बिहानको फोन संवादमा पनि निरन्तर भनिरहेका थिए।
नेपाल ल्याउन भनेर कुरा गर्न गएकाहरुले जति संवादको समय बढाइरहेका थिए‚ त्यति नै उता ती युवाहरुलाई ट्रकमा हालेर क्वारेन्टाइनतर्फ लान खोजिरहेको थियो। त्यो कुरा संवादमा रहेका इन्सपेक्टर दाहाललाई हामीसँगै रहेका माडीका सुरक्षाकर्मीबाट रिपोर्टिङ् गराइरहेका थियौं। अन्ततः ती युवाहरुलाई भिखनाठोरीबाट जमुनिया नजिकै ८ किमिको दूरीमा रहेको एक विद्यालयमा लगेर राखेको छ। ती माडीबासी युवाहरुसँग अहिले पनि फोन सम्पर्क भइरहेको छ। त्यहाँसम्म मोबाइलको नेपाली नेटवर्कले काम गरेको छ।
'एकदुई दिनमा जसरी पनि नेपाल ल्याउने गरी निरन्तर प्रयास म गर्छु। ढुक्कसँग बस्नुहोस्। केही त्यस्तो भयो भने मलाई फोन गरिहाल्नुहोला। आफ्नैले यति निकृष्ट काम गर्लान् भन्ने विश्वास थिएन,' मेयर ढकालले उहाँहरुलाई हौसला दिँदै भनेपछि हामी बिहान ११ बजे माडी फर्कियौं।
यो घटनाक्रमले विदेशी भूमिमा श्रम बेच्न बाध्य ती नेपाली श्रमिकहरू जसको रेमिट्यान्सले यो देशको अर्थतन्त्र अडिएको छ। तिनै श्रमिक नेपालीहरू आफ्नो जन्मभूमि फर्केर आउँदा आउन पाउँदैनन् भने यसको परिणाम के होला? प्रश्नहरू हजारौं छन्। अनि उत्तर त्यसले दिने परिणामले देखाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।