काठमाडौं- जीवन बीमा कम्पनीले कोरोना बीमा बिक्री गर्न थालेपछि बीमा समितिले रोक लगाएको छ। जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमा कम्पनी सँग टाइअप गरेर आफ्ना बीमितलाई यस्तो पोलिसी खरिद गराउन थालेपछि रोक लगाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
जीवन बीमा कम्पनीहरूले सावधिक जीवन बीमा पोलिसी खरिद गरेबापत कोरोना बीमा सित्तैमा भन्दै प्रचार गर्न थालेपछि रोक लगाइएको उनले बताए। ‘यसरी बीमा पोलिसी जारी गर्दा बीमा कम्पनीहरु विचमा अस्वस्थ प्रतिस्पर्धा देखिए पछि बाध्य भएर रोक लगाइएको हो,’ पौडेलले भने।
कोरोना बीमा पैसा कमाउन ल्याएको पनि होइन। अहिलेको संवेदनशील अवस्थामा स्थानीय निकायका उपचार गर्न नसक्ने नागरिकका लागि जारी गरिएको समितिको तर्क छ। तर बीमा कम्पनीहरुले आफ्नो पोलिसी बिक्री गर्न प्रचार समाग्री बनाए पछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नै यस्तो पोलिसी बिक्री गर्न निर्देशन दिएको हो।
यदि भोलिका दिनमा कोरोनाले महामारीको रुप लियो र बीमा कम्पनीहरूले नै धान्न नसक्ने अवस्था आयो भने के गर्ने भन्ने विषयमा प्रश्न उठेको छ। त्यस्तो अवस्थामा बीमा समिति जवाफदेही हुनुपर्ने पौडेल बताउछन्। तत्कालका लागि पोलिसी जारी गरिए पनि पछिल्लो समय संक्रमितको संख्या बढ्दै गए पछि बीमा कम्पनीहरु आत्तिन थालेका छन्।
प्रिमियम रकमभन्दा दाबी भुक्तानी धेरै हुने अवस्था आयो र सरकारले उपचार गर्न सक्ने अवस्था रहेन भने बीमा समिति जवाफदेही हुनु पर्ने भएकाले यो पोलिसीलाई नजिकबाट नियालीरहेको पौडेलले बताए। समितिले दिन दिनै यो पोलिसी के कसरी बिक्री भैरहेको छ भनेर सुक्ष्म निगरानी बढाइरहेको छ।
बीमा कम्पनीहरुले बिक्री गरेको यस पोलिसीले अहिलेसम्म तीन चार सयको उपचार गर्न सक्ने पैसा संकलन भएको छ। यदि संक्रमण भयावह भयो र बीमा कम्पनीले धान्नै नसक्ने अवस्था आयो भने अप्ठ्यारो पर्न सक्ने पौडेलको तर्क छ।
जीवन बीमा कम्पनीहरु समेत लागेर अहिले नै हौसिएर यो पोलसी बिक्री गर्नुपर्ने आवश्यकता नरहेको समितिको तर्क छ। बीमा समितिले कोरोनाको उपचार गर्न सक्ने भन्दा पनि उपचार गर्नै नसक्ने स्थानीय निकायका लागि यो पोलिसी लक्षित गरिएको पौडेलले बताए। निर्जीवन बीमा कम्पनीहरुले नै पुलमार्फत् स्थानीय निकायमा गएर यो पोलिसी बिक्री गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।