काठमाडौं- कोरोना भाइरसको कारणले नेपालको कूल गार्हस्थ्य उत्पादमा एक खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
कोभिड-१९ पूर्वको यस प्रक्षेपणलाई केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिब १ खर्ब ६५ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका सबै क्षेत्रमा कोभिङ-१९ को प्रभाव देखिन थालेको छ। गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। विगत ३ वर्षमा औसत ७३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ।
कोभिड-१९ को प्रभाव सुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुनसक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून रहने देखिएको हो।
कोभिड-१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सामाजिक दूरी कायम गर्न २०७६ चैत ११ देखि घरमै बस्नुपर्ने व्यवस्था गरेको छ। यस क्रममा उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित छन् भने आपूर्ति श्रृंखला प्रभावित छ। ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको छ। यसैगरी सार्वजनिक यातायात बन्द रहेको अवस्था छ।
२०७५ फागुनको तुलनामा २०७५ चैतमा खाद्य तथा पेष पदार्थ मुद्रास्फीति बढेको छ। कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ। २०७५ चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको छ। निक्षेपको भारित औसत ब्याजदर सीमान्त घटेको छ भने कर्जाको ब्याजदर स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।