काडमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक काम हुन नसक्नुमा पूर्ववर्ती सरकारहरु जिम्मेवार रहेको र त्यो सबैको अपजस यो सरकारले लिन नसक्ने बताएका छन्। विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकतामाथि उठेका विषयहरुको संसदमा जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले कुन–कुन सरकारको पालामा कस्ता आयोजना राष्ट्रिय गौरवका आयोजना घोषणा भए त्यसको सबै जिम्मेवारी अहिलेको सरकारले मात्र लिन नसक्ने बताए।
‘संसदमा राष्ट्रिय गौरवका आयोजनाको निकै चर्चा भएको छ। हो, हामीले स्वीकार्नैपर्छ हामीले राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषप्रद ढंगले अगाडि बढाउन सकेका छैनौं। तर, यी आयोजनाको छनौट प्रक्रिया देखिको कुरा हेर्न हो भने हामीले विगतका सरकारको इतिहास पल्टाउनुपर्ने हुन्छ,’ उनले भने, ‘डिपिआर नै नभएका, सम्भाव्यता अध्ययन नै नभएका आयोजनालाई हामीले पटापट राष्ट्रिय गौरवका आयोजना बनाउँदै गएपछि त्यस्ता आयोजना सुरु नै नहुने स्थिति त हो नै।’
राष्ट्रिय गौरवका आयोजनामा उल्लेख्य प्रगति हुन नसक्नुमा अहिले र यसअघिका सरकारले हामी आत्म समीक्षा गर्नुपर्ने उनको भनाई छ। ‘कहिले–कहिले हामीले यस्ता आयोजनाहरु घोषणा गर्याैं र कसरी यी आयोजनाहरु अप्ठेरो स्थितिमा पुगे? यो सरकार आफ्नोतर्फको जिम्मेवारी लिन तयार छ। तर पूर्ववर्ती सरकारहरुले पनि आ–आफ्नो भागको जिम्मेवारी लिईदिनुपर्ने हुन्छ,’ अर्थमन्त्री खतिवडाले भने। खतिवडाले आगामी आर्थिक वर्षको बजेटका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलगायतका क्षेत्रलाई बढी प्राथमिकतामा राखेको पनि स्पष्ट पारे।
‘अहिले जीवन रक्षालाई पहिलो प्राथमिकता दिऊँ। स्वास्थ्य उपचारका सामग्री खरिद र कोरोना संक्रमण रोकथाम अहिलेको आवस्यकता हो। आधारभुत स्थास्थ्य सेवासँगै माध्यामिक तहसम्मको शिक्षाका लागि राज्यले अहम भूमिका खेल्छ,’ उनले भने। आर्थिक पुनरुत्थान र कृषिलाई जोड दिने गरी बजेटका सिद्धान्त तय गरिएको उनको भनाई छ।
विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काउने विषयमा भने गम्भीर छलफल हुनुपर्ने उनको भनाई छ। अहिलेकै अवस्थामा विदेशबाट कामदार फर्काउने विषय सोचेजस्तो सजिलो नरहेको उनले बताए। अहिले देश रोगबाट पनि अतिक्रमित र सीमानाकामा पनि अतिक्रमित भएकोसमेत उनले बताए।
कोरोना संक्रमण रोकथामका लागि प्रयास, राहत वितरण र सँगसँगै आर्थिक गतिविधिहरु सुचारु राख्ने विषयमा पनि अर्थमन्त्री खतिवडाले संसदमा बोलेका छन्। ‘राहतको नाममा पैसा दिएर मात्र हुँदैन। यस्तो अवस्थामा न्यूनतम आर्थिक क्रियाकलापहरु पनि सँगसँगै अगाडि बढाइनु पर्छ। आर्थिक क्रियाकलापहरु रोकिए हामी रोगबाट त जोगिऔंला तर भोकबाट जोगिन गाह्राे छ,' उनले भने।
अहिले अर्थतन्त्रका अधिकांश सुचकहरु खराब अवस्थामा पुगे पनि केहि सुचकहरु सन्तोषजनक रहेको उनले स्मरण गराए। व्यापार घाटा कम हुँदै गएको र पछिल्ला १०–१५ वर्षयता मुद्रास्फीति ८ देखि १० प्रतिशत रहेकोमा अहिले ६ दशमलव ७ प्रतिशत हुनुलाई अनौठो मान्न नहुने उनको भनाई छ। भुक्तानी सन्तुलन कायम रहेको उनले बताए।
‘कुनैबेला विद्युत् आयात कुल उपभोगको ३५ प्रतिशतसम्म रहेको थियो। र हामी आयातित विद्युत्मा भर पर्थ्याैं। अहिले हामी त्यसको आधा अर्थात १८ प्रतिशतभन्दा पनि कम विद्युत् आयात गरिरहेका छौं,’ अर्थमन्त्री खतिवडाले भने, ‘केहि माननीयज्यूहरुले वार्षिक ५५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात भएको भनेर भन्नुभयो। त्यो तीन/चार वर्ष अगाडिको तथ्यांक हो। बरु अहिले हामी १ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरिरहेका छौं। विद्युत् व्यापार भनेपछि आयात निर्यात दुवै हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।