काठमाडौं- हिन्द र प्रशान्त महासागरमा चल्ने एलिनिनो र ल्यानिनो चक्रवाथ परिवर्तनले नेपालसहित दक्षिण एसियामा वर्षासँगै जाडो हुन पुगेको छ। हरेक २ देखि ७ वर्षमा चक्रीय रुपमा चल्ने एलिनिनो चक्रवाथ न्यूट्रल हुँदै ल्यानिनो चक्रवाथ चलेकाले चैत वैशाखमा समेत वर्षा र जाडो भएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए।
गत वर्षको असारदेखि ल्यानिनो चक्र सुरु भएकाले मनसुनमा धेरै वर्षा, हिउँदमा वर्षासँगै हिउँ धेरै परेको उनले बताए। विश्वव्यापी चलेको घटनाक्रमको असरले प्रि-मनसुनमा समेत नेपाललगायत दक्षिण एसियामा धेरै वर्षा र चिसो भएको हो।
‘हिन्द महासागर‚ प्रशान्त महासागरमा चल्ने एलिनिनो र ल्यानिनो चक्रवाथ विश्वव्यापी चल्ने फेनोमेना हो।’ शाक्यले भने, ‘त्यो ल्यानिनो फेनोमेना गत वर्षको असारदेखि सुरु भयो त्यो हुँदासम्म धेरै वर्षा, चट्याङ‚ हिउँ र चिसो हुन्छ।’ समुन्द्री तटमा ल्यानिनो चक्रवाथ चल्दा नेपालसहित दक्षिण एसियाका देशहरुमा वर्षा धेरै हुने शाक्यले बताए।
‘अहिलेको प्रि-मनसुनमा स्थानीय वायू सक्रिय भएर छिटफुट वर्षा हुनुपर्ने हो। यदि सक्रिय भए पूर्वी वायू थोरै सक्रिय हुने हो’ शाक्यले भने, ‘तर, अहिलेपनि पश्चिमी वायू सक्रिय हुँदा जलवाष्पमा चिसो ल्याउँदा वर्षा र चिसो अत्यधिक छ।’ अहिले ल्यानिनो चक्रवाथ चलेकाले आगामी वर्षको मनसुनमा समेत धेरै वर्षा हुन सक्ने शाक्यको अनुमान छ।
विश्वव्यापी कोरोनाले उद्योग कलकारखाना बन्द हुँदा वातावरण सफा भएपनि अहिलेको प्रि-मनसुनमा ठूलो असर नपारेको शाक्यले बताए। प्रविधिका कारण नेपालको पूर्व मौसमअनुमान प्रभावकारी हुन सकेको छैन। ‘मौसम पूर्वअनुमान महाशाखाले गणितीय तथ्याङ्क विश्लेषणका आधारमा गर्दा धेरै मौसमको पूर्व अनुमान मिलाउन थालेको छ। मौसमको जति धेरै लामो समयको पूर्वअनुमान गर्छौं त्यति गल्ती हुने सम्भावना हुन्छ।’ शाक्यले भने, ‘अहिले मौसम पूर्वअनुमान मिलाउन नाओ कास्ट सिस्ट ल्याएको छ। त्यो एक घण्टा ३ घण्टा ६ घण्टा छोटो छोटो समयमा गर्दा मौसमको ठ्याक्कै मिल्छ।’ प्रविधिले चाहेमा ६ महिना वर्षदिनको समेत मौसमको पूर्वअनुमान गर्न सकिने शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।