रोल्पा-काठमाडाैंकाे मनकामना इँटाभट्टामा काम गरिरहेका रोल्पा त्रिवेणी गाउँपालिका ५ का दुर्गाप्रसाद बिक कोभिड-१९को सन्त्रास बढेसँगै घर फर्किए। ६ महिनाअघि परिवारका अन्य सदस्यसहित रोजगारीका लागि काठमाडाैं गएका उनी काम बन्द भएपछि घर फर्किएका हुन्।
सरकारले घोषणा गरेको लकडाउनले यातायातका साधन बन्द भएपछि उनी झण्डै १ महिना काठमाडाैंमा कष्टपूर्ण दैनिकी बिताउन वाध्य भएका थिए। काम बन्द भएपछि ४ हप्तासम्म पनि साहुले रासनपानीका लागि पैसा नदिएपछि उनीहरुले केही खान पाएनन्।
बिचल्लीमा परेका मजदुर घर फर्काउने गरि केही खुकुलो वातावरण बनेसँगै १५ दिनअघि उनी अन्य मजदुरसँगै रोल्पा फर्किएका हुन्। इँटाभट्टा मालिकले उनीहरुलाई गाडी रिजर्भ गरि पठाएका थिए। घर फर्कँदा इँटाभट्टा मालिकबाट प्रति मजदुर १ हजार बाटो खर्च बुझेका उनीहरुको घरफिर्ति कष्टपूर्ण थियो।
हरेक वर्ष घर फर्कँदा पैसा लिएर आउने उनीहरु यसपटक भने रित्तो हात फर्किन वाध्य भए। मालिकले ६ महिनामा एकमुष्ट हिसाब दिने चलन अनुसार यस वर्ष पनि अन्तिम हिसाब गर्ने तयारी हुँदै गर्दा काम बन्द भएकाे मजदुर दुर्गाप्रसाद विकले बताए। 'काम गर्ने हरेक मजदुरको कम्तिमा १५० दिनको हिसाबकिताब बाँकी थियो। साहुले त्यो पैसा नदिँदा रित्तोहात घर फर्कन वाध्य भयौं,' विकले भने।
मजदुरहरुका लागि इँटा उद्योगले दैनिक ज्यालादारी वा ठेक्कापट्टामा काम गर्ने छनाेटको सुविधा दिएको हुन्छ। अघिल्लो वर्ष ठेक्काको रुपमा १ हजार इँटा बाेकेको ३४५ रुपैयाँ भुक्तानी दिने गरि उद्योगले रेट निर्धारण गरेको थियो। यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने पुरुषले ६५० र महिलाले ६०० ज्याला पाउथे।
'यस वर्ष हाम्रो ज्यालाको बारेमा कुराकानी भएको थिएन। नाईके र साहुले कुरा गरेर काम लगाएका हुन्, ज्याला कति छ थाहा छैन,' दुर्गाप्रसादले भने। हरेक वर्ष ज्याला वृद्धि हुँदै आएकाे पनि उनले बताए। रासनपानीका लागि साहुले हरेक हप्ता प्रतिव्यक्ति १ हजार रुपैयाँ पेश्की दिने गरेकाे र त्यसैबाट हप्ताभरको खर्च धान्ने गरेकाे उनले बताए।
आफूले १५५ दिन काम गरेको दुर्गाप्रसादको भनाइ छ। 'यसबीचमा ५० हजार रुपैयाँ पेश्की लिएको हुँ बाँकी रकम पाएको छैन', दुर्गाप्रसादले भने। झण्डै ६ महिना काम गर्दा १ लाख बढी रुपैयाँ कमाए पनि साहुले ५० हजार रुपैयाँमात्रै भुक्तानी दिएकाे उनले बताए।
इँटाभट्टाको कमाइले घरव्यवहार चलाउँदै आएका उनीहरु यस पल्ट रित्तो हात घर फर्कँदा दैनिक गुजारा गर्न सकस भएको छ। स्थानीय सरकारले दिने नाम मात्रको राहतले उनहरुको गर्जो टर्ने संभावना छैन। रोल्पाका स्थानीय सरकारले प्रति विपन्न ५ किलो चामलका दरले राहत वितरण गरेका छन । कोरोना कहरको निहुँ बनाएर इँटाभट्टा मालिकहरुबाट ठगिने हो कि भन्ने चिन्तामा छन् मजदुर।
काम मजदुरले गर्ने तर उनीहरुको मोलमोलाई नाईकेहरुले गर्ने गर्छन्। नाईकेहरुले साहुसँग कमिसन लिने गरेको र साहुसँग धेरै पैसामा बार्गेनिङ गरेर आफूहरुलाई कम पैसामा काम लगाउँदै आएको मजदुरहरुको आरोप छ।
गाउँबाट ठूलो संख्यामा इँटाभट्टाका लागि मजदुर लैजाने नाईकेहरुले हरेक मजदुरबाट कमिसन खाने गरेको उनीहरुको आरोप छ। नाईकेले निश्चित पसलबाटमात्रै रासनपानी,तरकारी तथा कपडाहरु किन्न वाध्य बनाउने गर्छन्। 'उनीहरुले त्यसको पनि कमिसन खाने गरेका छन्,' मजदुर दुर्गाप्रसादले भने।
जोखिमपूर्ण शारिरिक श्रम गर्ने मजदुरहरु उचित ज्याला नपाएर ठगिने र श्रम विना विचौलिया दलालहरुले कमिसन खाने गरेको मजदुरहरुको आरोप छ।
रोल्पा जिल्लाबाट आएर काठमाडाैं उपत्यकाका विभिन्न इँटाभट्टामा काम गर्ने मजदुरको संख्या १० हजारभन्दा बढी रहेको बताईन्छ। कोरोना भाईरसको संक्रमणपछि ७ हजार बढी मजदुर जिल्ला भित्रिएका थिए भने त्यसपूर्व आएका र अझै काठमाडाैंमै रहेकासमेत गरि यो संख्या १० हजार बढी रहेको हुन सक्ने आँकलन गरिएको छ। विद्यालय जाने उमेरका केटाकेटीहरु पनि पढाई छाडेर इँटाभट्टा जाने गरेको देखिएको छ। सेभ द चिल्ड्रेनले रोल्पाको त्रिवेणी गाउँपालिकामा गरेको सर्वेक्षणमा झण्डै २५० विद्यालय जाने उमेरका केटाकेटी कोरोना त्रासपछि इँटाभट्टाबाट फर्केका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।