काठमाडौं–बन्चरो हानेर आफ्नै बाबुआमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
कन्चनले बन्चरो प्रहार गरी ४२ वर्षीय बाबु रुपबहादुर लिम्बु र ३५ वर्षीया आमा रुपेनी लिम्बुको हत्या गरेका थिए। हत्या भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिएकाे छ।
त्यसैगरी, आफ्नै भिनाजुलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङको केपिलासगढी गाउँपालिका-२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
मिलनले भिनाजु नाता पर्ने ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। आवश्यक अनुसन्धान र सोधपुछका लागि मिलनकै भाइ २० वर्षीय जीवन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।