काठमाडौं- बिहीबार (भोलि) बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ। वैशाख २० मै बैठक मिति तय गरिए पनि एजेन्डाका विषयमा नेताहरूबीच कुरा नमिलेपछि बैठक स्थगित भएको हो।
स्थायी कमिटी बैठकमा प्रस्ताव गरिने एजेन्डा तय गर्न सचिवालय बैठक ४ बजेका लागि बोलाएको थियो। बैठक निर्धारित समयमा बस्यो पनि। तर, बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कुरा राखिसकेपछि उठेर हिँडेकाले बैठक स्थायी कमिटी बैठकबारे अनिर्णित भएको हो। स्थायी कमिटीमा प्रस्ताव गरिने एजेन्डा र बैठक मिति तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिँदै सचिवालय बैठक समापन भयो। अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि सहमति नभएपछि बैठक स्थगित भएको हो।
नेकपामा 'एक व्यक्ति, एक पद'को एजेन्डालाई लिएर पार्टीभित्र नेताहरुवीच विवाद बढेको छ। पार्टीको विधानबमोजिम सचिवालयबाट स्थायी कमिटी बैठकमा पेस गर्ने त्यस एजेन्डालाई लिएर शीर्ष नेताहरुबीच विवाद उत्कर्षमा पुगेको हो।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड'बीच भएको सहमतिमध्ये 'एक व्यक्ति, एक पद' कार्यान्वयन हुने नदेखिएपछि पार्टीमा विवाद बढेको एक सचिवालय सदस्यले बताए। ‘पार्टी फट्ने स्थिति भएपछि ओली प्रचण्डबीच एक व्यक्ति एक पद र मुख्यमन्त्रीदेखि संघीय मन्त्रीको हेरफेर गर्ने समझदारी भएको थियो,’ एक सचिवालय सदस्यले भने, ‘आफूसँग भएको सहमति प्रचण्डजीले माधव कमरेड र झलनाथ कमरेडलाई भन्नु भएको थियो। त्यो सहमतीमा हामीले पनि समझदारी गरेका थियौं। तर, प्रधानमन्त्री ओली आफ्नो सहमतीबाट पछि हटेरपछि पार्टीको विवाद फेरि पहिलेकै अवस्थामा आएको छ।'
सहमतिअनुसार प्रचण्ड-नेपाल समूह स्थायी कमिटी बैठकमा सकरकाले बैसाख ८ गते ल्याएका २ अध्यादेश (हाल खारेज भइसकेका), एक व्यक्ति एक पद र सरकारका कामकारबाहीका सम्बन्धमा एजेन्डा पेस गर्ने योजनामा थिए। ओलीले सुरुमा कोरोना नियन्त्रणमा सरकारले गरेका काम र आगामी आर्थिक वर्षको बजेटको विषय मात्रै स्थायी कमिटी बैठकमा पेस गर्नपर्ने अडान लिएका थिए।
अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले अरु सबै एजेन्डा प्रवेश गराएपनि 'एक व्यक्ति, एक पद'लाई राख्नैपर्ने अडान लिए। उता ओली भने अन्य सबै एजेन्डा स्थायी कमिटीमा प्रवेश गराएपनि 'एक व्यक्ति, एक पद'को विषय कोरोना र बजेटलाई देखाएर प्रवेश गराउनै नमानेपछि नेताहरुबीच तीव्र विवाद भएको हो।
एकले अर्कोलाई गलाउने रणनीति
यसअघि सचिवालय बैठकमा चेपुवामा परेका प्रधानमन्त्रीले पावर सेयरिङमा सहमती गरेका थिए। आफूले गरेको सहमतिले आफूलै सबैभन्दा धेरै प्रत्युउत्पादक हुने देखिएपछि प्रधानमन्त्री ओली पछि हटेका छन्।
प्रधानमन्त्री ओली 'एक व्यक्ति, एक पद'मा सबैभन्दा पहिला आफू नै चुपुवा पर्ने महुसुस गरेकाले पछि हटेका हुन्। उता प्रचण्डले 'एक व्यक्ति, एक पद'को मुद्दालाई सचिवालय हुँदै स्थायी कमिटीबाट निर्णय गराएमा आलीलाई कमजोर बनाउने रणनीतिमा छन्।
पार्टीमा विधिविधान मिच्नेदेखि मनमौजी तरिकाले प्रधानमन्त्री चलेकाले यति नै बेला साइजमा ल्याउन प्रचण्ड-नेपाल समूह लागेको छ। उता ओलीले आफूलाई जति चेपुवामा पारेपनि पार्टी फुटाउन हैसियत प्रचण्ड-नेपाल समूहसँग छैन भन्ने मनसायले सहमति तत्काल कार्यन्वयन नगर्ने पक्षमा छन्। कोरोना महामारी र बजेटलाई देखाएर सचिवालय बैठकदेखि सहमतिका विषयसम्म पर धकेल्ने पक्षमा छन् उनी। पार्टीमा बढ्दै गएको विवादमा ओली समूह एकतिर छ भने अर्कोतिर प्रचण्ड-नेपाल समूह भने अर्कोतिर छ। यी दुवै ध्रुवहरू एकले अर्कोलाई गलाउन रणनीतिमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।