बेनी-प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका-६ का वडाध्यक्ष मनकुमार शेरपुर्जाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
गत चैत ३० गते प्रहरीले शेरपुर्जाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो। हातहतियार तथा खरखजाना मुद्दा चलाइएपछि उनी फरार भएका थिए।अनुसन्धानमा सहयोग गर्न र कानुनी रूपले मुद्दाको प्रतिवाद गर्न शेरपुर्जा आफैँ आइतबार प्रहरीकहाँ पुगेको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले बताए ।
उनका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुर्जाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परीक्षण गर्दा बाह्र बोरको भएको पुष्टि भएको छ। चैत २९ गते बिहान ‘नेकपा गाउँपालिका अध्यक्ष दीपक कार्की बिखर्ची मित्रले झैँ सामाजिक सञ्जालमा आगो बाल्नु छ। कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटामात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा स्टाटस राखेका शेरपुर्जाले केही समयपछि त्यसलाई हटाएका थिए ।
शेरपुर्जा २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए। उनलाई कांग्रेसका नेताहरुले प्रहरी कार्यालयमा लिएर आएका थिए । स्थानीय चुनावअघि कांग्रेसमा प्रवेश गरेका शेरपुर्जा कांग्रेसको रघुगंगा गाउँपालिका कार्यसमितिका सचिव पनि हुन् ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आबद्ध थिए। अवैध हातहतियार वा गोलीगठ्ठा राखेकाले शेरपुर्जाविरुद्ध अदालतमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।