काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागबाट नेकपाका शीर्ष नेताहरु 'ब्याक' हुने संकेत देखिएको छ। ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने पक्षमा देखिएका सचिवालय सदस्यहरुबीच नै मत बाझिएपछि तत्काललाई राजीनामा टरेको नेकपाका एक नेताले जानकारी दिए।
प्रधानमन्त्री ओलीविरुद्ध बनेको नेकपा शीर्ष नेताहरुको समूहबाट सचिवालय सदस्य झलनाथ खनाल, रामबहादुर थापा 'बादल' र उपाध्यक्ष बामदेव गौतम राजीनामा गराउन नहुने पक्षमा उभिएका छन्। यस्तै केही समयअघि भैंसेपाटी भेलातर्फ देखिएका महासचिव विष्णु पौडेलले ओलीका पक्षमा लाइन क्लिएर गरेका छन्।
गौतम ओलीका पक्षमा खुलेर बोल्न राजी भएका छन्। गौतमसँग प्रधानमन्त्री ओलीले छुट्टै भेटघाट गरेर आफ्नो पक्षमा ल्याउन सफल भएका हुन्। खनालले पनि ओलीले राजीनामा दिनुपर्ने विषयमा मौन रहने नीति लिएको बुझिएको छ। उनकाे प्रधानमन्त्री ओलीसँग भएको कुरा उदृत गर्दै एक नेकपा नेताले भने, 'कामकारबाहीका विषयमा आलोचना भएपनि प्रधानमन्त्रीका हकमा ओलीको विकल्प खोज्ने जनमत नभएकाले राजीनामाका विषयमा म बोल्दिनँ।'
शीर्ष नेताहरुको कित्ताकाटमा मध्यमार्गी भएर मौन बसेका बादलले प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्ने विषयमा सहमति जनाएनन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वारपारको अवस्थामा जानुपर्ने बताए पनि थापाले सहमति नजनाएको बुझिएको छ।
ओलीले प्रचण्डलाई पनि पावर सेयरिङको आश्वासन दिएको बुझिएको छ। ओलीलाई भेट्न शुक्रबार प्रचण्ड बालुवाटार पुगेका थिए। भेटमा प्रचण्डलाई ओलीले एकल अध्यक्षको प्रस्ताव गरेको उनी निकट नेताले जानकारी दिएका छन्। प्रधानमन्त्रीमा आफ्नो निरन्तरताको सुनिश्चिता गरे प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले भने, ‘एकल अध्यक्षको प्रस्ताव आएको रहेछ। तर विश्वास गरिहाल्न सकिने अवस्था छैन।’
प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल राजीनामाको मागबाट पछि हटेका छैनन्। तर उक्त माग पूरा हुनेमा भने शनिबार दिउँसोदेखि सशंकित छन्। प्रचण्डनिकट एक नेता भन्छन्, 'राजीनामाको कुरा सचिवालयमा उठ्छ। तर निर्णय हुने ग्यारेन्टी रहेन।'
बहुमतबाट निर्णय गर्ने अवस्था आउँदा सचिवालयमा ओलीसँग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा 'बादल' र महासचिव पाैडेल खुलेर देखिने छन्। पूर्व प्रधानमन्त्री झलनाथ खनाल तटस्थ बस्नेछन्। विपक्षमा कार्यकारी अध्यक्ष प्रचण्ड, नेपाल र नारायणकाजी श्रेष्ठ 'प्रकाश' मात्रै हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।