काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत (स्थिर मूल्यमा) हुने प्रक्षेपण गरेको छ।
विभागले चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)को तथ्यांकका आधारमा यो प्रक्षेपण गरिएको हो।
यससँगै नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ।
गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको विभागले चालु वर्षमा आर्थिक वृद्धिदर ४.४८ प्रतिशत बिन्दुले कम हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
कूल गार्हस्थ उत्पादनमा २८.२ प्रतिशत हिस्सा ओगट्ने प्राथमिक क्षेत्रको वृद्धिदर गत वर्षभन्दा न्यून हुने विभागको प्रक्षेपण छ। यसमा कृषि तथा वन, मत्स्य र खानी उत्खनन् पर्दछन्। यसैगरी द्वितीय क्षेत्रको कूल गार्हस्थ उत्पादनमा योगदान १३.७२ प्रतिशत छ। चालु वर्षमा यस क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान विभागले गरेको छ।
यस्तै कूल गार्हस्थ उत्पादनको ५८.०८ प्रतिशत हिस्सा ओगट्ने सेवा क्षेत्रको वृद्धिदर १.९९ प्रतिशत हुने अनुमान विभागको छ। होटल, रेस्टुरेन्ट तथा हवाई यातायातमा कोरोना भाइरसका कारण प्रत्यक्ष असर परेकोले वृद्धिदर न्यून हुने विभागको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।