काठमाडौं- सार्वजनिक खरिद नियमावली दशौंपटक संशोधन गरिएको छ। गएको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेको हो। संशोधित नियमावलीको नियम १२० मा थपिएको प्रावधानअनुसार, बैशाख १४ गतेसम्म समय सकिएका ठेक्काको म्याद थप्न सकिनेछ।
‘म्याद थप्न निर्माण व्यवसायीले २१ दिनभित्र निवेदन दिनुपर्ने छ,’ नियमावलीमा उल्लेख छ। उक्त व्यवस्थाअनुसार आगामी जेठ ७ गतेभित्र निवेदन दिई ठेक्काको समय थप्न सकिन्छ। एकपटक थपिएका ठेक्कको म्याद फेरि थप्न नपाइने भएकाले नियमावली नै संशोधन गरिएको हो।
आइतबारको मन्त्रिपरिषद्बाट संशोधन गरिएको नियमावली मंगलबार राजपत्रमा सूचना प्रकाशित गरिएको थियो। सार्वजनिक खरिद नियमावली संशोधनपछि मूल्यांकनका क्रममा रहेका सबै ठेक्काको सम्झौता ढिलो हुने भएको छ। सरकारले २०७६ पुसमा सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गरेको थियो।
उक्त संशोधनले ठेक्कामा सहभागी हुँदा क्रेडिट लाइन बुझाउन नपर्ने व्यवस्था गरेको थियो। यो व्यवस्थाअनुसार मूल्यांकनमा रहेका सबै ठेक्कामा ठेकेदारले पुनः बोलपत्र पेस गर्नुपर्नेछ। सरकारले २०७६ मा सार्वजनिक खरिद नियमावली पाँचपटक संशोधन गरिएको थियो। खरिद नियमावली बारम्बार संशोधन हुँदा यसको प्रत्यक्ष असर विकास निर्माणमा पर्ने गरेको छ। तर, सरकारले व्यवसायी तथा सरोकारवालासँगको छलफलविनै दशौं संशोधन गरेको हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।