काठमाडौं- नेपाली कांग्रेसले बोलाएको अर्थविद्हरुको बैठकमा आर्थिक सुधारमा असफल भएको सरकारलाई कोरोनाको कारण देखाउन बहाना मिलेको टिप्पणी गरिएको छ।
कोरोना संक्रमणपछिको अर्थतन्त्रका विषयमा छलफल गर्न कांग्रेसले पार्टी निकटका अर्थविदहरु बोलाएको थियो। सहभागी अर्थविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको आरोप लगाएका थिए। ओरोलो दिशामा रहेको अर्थतन्त्रमा कोरोना मिसिएपछि सरकारलाई बहाना मिलेको सहभागीहरुले टिप्पणी गरे।
कांग्रेसका पूर्व अर्थमन्त्री, योजना आयोगका पूर्व उपाध्यक्ष र अन्य अर्थविदलाई निम्त्याइएको बैठकमा राहतका नाममा सरकारले राजनीति गरेको विषय समेत उठान भएको थियो। कोरोनाको संकटको बेलामा केन्द्रीय सरकारको भूमिका कमजोर रहेको औंल्याइएको थियो। स्थानीय तह र नीजि क्षेत्रलाई अघि सारेर भूमिकाबाट सरकार पन्छिएको सहभागीले विचार राखे।
कोरोनाबाट सिर्जित लकडाउनको समयमा जनताको समस्या पुरै बेवास्ता गरेको विचार बैठकमा उठेका थिए। लगानीको माहोल र बेरोजगारका समस्या सम्बोधन गर्न सरकार चुकेको सहभागीहरुले धारणा प्रस्तुत गरे। महासंकटलाई पार लगाउने सरकारसँग भिजन नभएको अर्थविदहरुले तर्क राखे।
आगामी बजेटमा नयाँ कार्यक्रम नभई राहत र पुनरुत्थानमा गर्न सरकार केन्द्रित हुनुपर्ने सुझाव दिइएको छ। गृहकार्य नगरी अवास्तविक बजेट नल्याउन सरकारसँग आग्रह गरिएको छ। उद्योगहरुलाई प्राथमिकता दिन आग्रह गरिएको छ। अनुत्पादक खर्च घटाउन अर्थविद्हरुले सरकारलाई सुझाव दिएका छन्। विवादित प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्यमा समेत अर्थविदहरुले प्रश्न उठाएका छन्। उक्त कार्यक्रमको मोडालिटी परिवर्तन गर्न सुझाएका छन्।
विश्वव्यापी परेको प्रभावले रोजगारी गुमाउने युवाहरुको समस्या विकराल हुनेप्रति सचेत गराइएको छ। फर्केका युवाहरुलाई स्थानीय तहदेखि केन्द्रसम्म परिचालन गर्न सकिने कार्यक्रम तय गर्न सरकारलाई सुझाइएको छ।
समृद्धि,समानता र स्वतन्त्रताका मुद्दामा कांग्रेसले कुनै अवस्थामा सरकारसँग सम्झौता नगर्न सुझाइएको छ। कोरोनाका कारणले सरकारले मिथ्यांक प्रस्तुत गर्न सक्ने भएकाले तथ्य सहित कांग्रेसले भण्डाफोर गर्नुपर्ने राय दिइएको छ।
पदाधिकारी र पूर्व अर्थमन्त्रीहरुले छलफलका लागि बोलाइएका अर्थविदका रायहरु सुनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।