काठमाडौं- कालोबजारीको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालमाथि २२ दिन लामो अनुसन्धान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालय काठमाडौंलाई पठाएको अनुसन्धान प्रतिवेदनको अभियोजन गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने भएको छ।
मुद्दा दायर भएको पुष्टि गर्दै सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता हरि रेग्मीले भने, ‘उहाँविरुद्ध विभिन्न चारवटा कसुरमा मुद्दा दायर भएको हो।’
उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी गरेका, कृत्रिम अभाव सिर्जना गरेको र २० प्रतिशतभन्दा बढी मुनाफा लिएर बेचबिचन गरेको गरी तीनवटा कसुर लगाइएको छ। यसअनुसार उनलाई एक वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। अग्रवाल नेपालका लागि कीर्गिस्तानको अवैतानिक वाणिज्यदूत समेत भएकाले सार्वजनिक पद धारण गरेको व्यक्तिले अपराध गरे हुने सजायको डेढी सजाय हुने व्यवस्था छ।
त्यस्तै १५ लाख ७८ हजार रुपैयाँ बिगो समेत माग दाबी गरिएको छ। कालोबजारी गर्न लागेको बेला प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको थियो। तर अनुसन्धानका क्रममा उनले १ सय ४५ वटा थर्मल गनमा कालोबजारी गरेको प्रहरीले पुष्टि गरेको थियो। उनले २४ सयमा ल्याएको थर्मल गन १५ हजारमा बिक्री गर्न लागेका थिए। चीनबाट १२ सय थान थर्मल गन ल्याएको अनुसन्धानका क्रममा देखिए पनि बाँकी थर्मल गनका विषयमा भने प्रहरीले पत्ता लगाउन सकेको थिएन। यस विषयको थप अनुसन्धान भने राजश्व अनुसन्धान विभागले गर्ने भएको छ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गन चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो। ७, ५ र १० गरेर २२ सम्म म्याद थप गरेर प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो। हाल उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।