काठमाडौं- रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्। उनीहरुको उमेर २४ र ३५ वर्ष छ। दुवैजना पुरुष भएको समेत डा देवकोटाले जानकारी दिए।
उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिका बासिन्दा भएको बताइएको छ। यी दुई सहित नेपालमा कुल संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
पछिल्लो समय प्रदेश १ र २ मा कोरोना संक्रमित देखिएका छन्। अघिकांश भारतबाट नेपाल आएका व्यक्तिहरु हुन्।हाल प्रदेश १ को कोशी अस्पताल विराटनगरमा ३१ जना र नारायणी अस्पतालमा ३ जना, चितवनमा ३ जना र सेती अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुवैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।