काठमाडौं- रौतहटमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ र ३५ वर्षीय दुई युवकको कोरोना भाइरस परीक्षणमा पोजिटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिका बासिन्दा भएको बताइएको छ। यी दुई सहित नेपालमा कुल संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
पछिल्लो समय प्रदेश १ र २ मा कोरोना संक्रमित देखिएका छन्। अघिकांश भारतबाट नेपाल आएका व्यक्तिहरु हुन्।
हाल प्रदेश १ को कोशी अस्पताल विराटनगरमा ३१ जना र नारायणी अस्पतालमा ३ जना, चितवनमा ३ जना र सेती अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुवैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।