काठमाडौं- सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको सोही अवधिमा एक अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिम २० दिन कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा नाफाको वृद्धिदर घटेको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफाको वृद्धिदर ५.९४ प्रतिशत रहेकोमा यस वर्ष २.०२ प्रतिशतमा खुम्चिएको हो। चालु आर्थिक वर्षको ८ महिना २० दिनको कारोबारमा उक्त नाफा आर्जन गर्न सफल भएको हो।
बैंक निक्षेप संकलनभन्दा कर्जा लगानीमा आक्रमक हुँदा नाफा बढाउन सफल भएको देखिन्छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकले निक्षेप संकलन १०.३९ प्रतिशतले बढाउदा कर्जा लगानी भने १०.२४ प्रतिशतले बढाएको छ। कर्जा लगानीमा आक्रमक देखिएको बैंकको खुद व्याज आम्दानी ७.५५ प्रतिशतले बढाउन सफल भएको छ।
बैंकले चैत मसान्तसम्ममा ७७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब एक करोड रुपैयाँको ऋण लगानी गरेको छ। यसै अवधिमा दुई अर्ब २४ करोड रुपैयाँको व्याज आम्दानी गरेको छ। खुद नाफा एक अर्ब ९ करोड रुपैयाँ भए पनि लाभांश बाँड्न योग्य नाफा भने जम्मा ४१ करोड रुपैयाँ मात्रै छ।
पुँजी कोष अनुपात केही बढेर १४.२१ प्रतिशत पुगेको छ। बैंकले खराव कर्जामा उल्लेख्य सुधार गरेको छ। गत वर्ष १.५८ प्रतिशत खराव कर्जा रहेकोमा यस वर्ष ०.९७ प्रतिशतमा झार्न सफल भएको हो। कस्ट अफ फण्डलाई पनि घटाउन सफल देखिन्छ।
नाफामा सामान्य सुधार हुँदा प्रतिशेयर आम्दानीमा एक रुपैयाँले गिरावट आएको छ। चुक्ता पुँजी तीन प्रतिशतले बढ्दा नाफा भने दुई प्रतिशतले मात्रै बढेको छ। यसैले गर्दा प्रतिशेयर आम्दानी एक रुपैयाँले घटेर १६ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।