एजेन्सी-भारतको कर्नाटकका दुई दाजुभाइले कोरोना भाइरस महामारीमा भोकै रहेका गरिबलाई खाना खुवाउन २५ लाखमा आफ्नो सम्पत्ति बेचेका छन्।कर्नाटकको कोलारका उनीहरुले आफ्नो जग्गा बेचेका हुन्।
‘यदि मानिसलाई खाना दिए भगवानले हामीलाई पनि हेर्नेछन्,’ दाजुभाइ मुजम्मिल र तजम्मुलले भने।
मुजम्मिल पाशा दुई भाइमा कान्छा हुन्। ‘हामीलाई लाग्यो कोरोना महामारीमा धेरै गरिबले खान पाएका छैनन्,’ ३७ वर्षीय मुजम्मिलले भने, ‘कुनै समय हामी पनि धेरै गरिब थियौं, त्यसबेला पनि मानिसहरुले हामीलाई भेदभाव नगरी सहयोग गरेका थिए।’
जब यी दुई भाइलाई लकडाउनका बेला गरिबलाई निकै समस्या भएको महसुस भयो, उनीहरुले आपसमा सल्लाह गरेर अलिकता जग्गा बेच्ने निर्णय गरे। ‘यस्तो अवस्थामा पनि हाम्रो जग्गा किनेर २५ लाख दिने मानिस भेटिए, ती भलाई चाहने व्यक्ति थिए,’ उनले भने, ‘यस अवधिमा अन्य धेरै व्यक्तिहरुले पनि हामीलाई सहयोग गरे ,कसैले ५० हजार रुपैयाँ दिए भने कसैले एक लाखसम्म सहयोग गरे।’
उनले यसरी खर्च गरेको रकम भनेर प्रचार गर्न नहुने उल्लेख गर्दै भने, ‘भगवानलाई थाहा भए त भइगो नि ।’
विना भेदभाव सहयोग
‘हामीले गरिबलाई खाना खुवाउन सुरु गर्यौं, त्यसपछि मानिसहरुलाई खाद्य सामग्री पनि सहयोग गर्न थाल्यौं,’ उनले भने, ‘हामीले वितरण गर्ने सहयोगमा १० किलो चामल,२ किलो आटा, एक किलो दाल, एक किलो चिनी, धनिया, खोर्सानी, बेसार ,नुन र साबुनसहितको प्याकेट हुन्छ।’
रमाजान सुरु हुनु दुई दिनअघि यी दाजुभाइले तीन हजार जनालाई यस्तो राहत वितरण गरिसकेका छन्। यी दुई भाइले सानैमा बाबु गुमाएका थिए। त्यतिखेर उनीहरु चार र तीन वर्षका थिए। उनीहरुको दुःख यही सकिएन। बाबु गुमाएको ४० दिनपछि आमा गुमाए। अनि दुवैलाई हजुरआमाले हुर्काइन्। उनीहरु एक मस्जिदमा हुर्किए। मस्जिदनजिकै रहेको एक होलसेलमा काम गर्न थाले। ‘हामीले पढ्ने अवसर पाएनौ’ मुजम्मिलले भने, ‘१९९५–९६ दिन हामी एक दिनमा १५ देखि १८ रुपैयाँ कमाउथ्यौं।’
केही वर्षपछि भाइले पनि होलसेलमा काम पाएपछि उनीहरुका राम्रा दिन सुरु भए। बिस्तारै आन्ध्र प्रदेश र तमिलनाडुबाट केरा ल्याएर बिक्री गर्न थाले। अनि, बिस्तारै प्रगति गरे।
यसरी गरिबहरुलाई खाना खुवाउने सोच कसरी आयो त भन्ने प्रश्नमा मुजाम्मिलले भने, ‘हाम्री हजुरआमाले सधै भन्ने गर्नु भएको थियो हामीलाई कति धेरै मानिसले सहयोग गरेका थिए भनेर, कसैले पाँच रुपैयाँ त कसैले दश रुपैयाँसम्म सहयोग दिएका थिए।’ त्यसैले आफूहरुलाई पनि विना भेदभाव सहयोग गर्ने भावना आएको उनले बताए।
‘धर्म यो धर्तिमा मात्र छ भगवानको साथमा छैन, जसले हामीलाई हेरिरहेका हुन्छन्, भगवान हाम्रो भक्तिमात्र हेर्ने गर्छन्,’ उनले भने।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।