काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा ७५ जना नेपाली कोरोना संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा बद्री केसीले शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो वार्तामा युएईमा ७५ नेपाली कोरोना संक्रमित भएको जानकारी दिएका हुन्।
‘युएई सरकारले पनि कतिपय अवस्थामा संक्रमितलाई राष्ट्रियताका आधारमा वर्गीकृत गरेको छैन। जसले गर्दा अझै यकिन तथ्यांक भने पाइएको छैन। तर संक्रमित नेपालीको संख्या ७५ भन्दा कम छैन,’ उपाध्यक्ष डा केसीले भने।
युएईमा कोरोनाका कारण युएईमा २ नेपालीको ज्यान गएको छ भने दुई नेपाली निको भएका छन्।
कोरोना महामारीको यो जटिल परिस्थितिमा एनआरएनएले सबै मुलुकमा भएका नेपालीहरुसँग प्रत्यक्ष सम्पर्क गरिरहेको उनको भनाइ छ। कोरोनाका कारण रोजगारी, अध्ययन, व्यवसाय वा स्थायी रुपमा नै विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली प्रभावित बनेको उपाध्यक्ष डा केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।