काठमाडौं-लकडाउनकै समयमा काठमाडौं गुहेश्वरीमा एक पुरुषको शव भेटिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसपी हृदय थापाका अनुसार अन्दाजी ४०/४५ वर्षका पुरुषको शव प्लास्टिकको ठूलो बोरामा प्याक गरेर फालेको अवस्थामा आइतबार साँझ भेटिएको हो।
‘शवको प्रकृति हेर्दा हत्या नै देखिन्छ। त्यहाँमाथि बारोमा प्याक गरेर फाल्नुले पनि हत्या भएको आशंका हामीले गरेका छौं। थप अनुसन्धान हुँदैछ’, नेपाल लाइभसँग एसपी थापाले भने।
शवको अनुहार भने चिन्न नसकिने अवस्था रहेको छ। प्रहरीका अनुसार करिब एक हप्ताअघि नै हत्या गरेर फालिएको हुनसक्ने उक्त शवको अनुहारको भाग मुसा वा अन्य केही जीवले खाएको जस्तो देखिन्छ।
शव पोस्टमार्टमका लागि आइतबार राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको महाशाखाले जनाएको छ। पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन।
शव गृहेश्वरीस्थित वस्ती नजिकैको खाली जग्गाको झाडीमा फेला परेको हो।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।