काठमाडौं-नेपालसँग जोडिने मेची नाका एकतर्फीरुपमा बन्द गरिएको छ। मानिसहरुको आवतजावतमात्रै रोक्ने गरी भएको लकडाउनविपरीत पश्चिम बंगाल सरकारले नाका बन्द गरिदिएको हो।
नेपालले वैशाख ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउन अवधिभर मानिसहरुको आवतजावत रोके पनि मालवस्तु ढुवानीमा अवरोध नपुर्याउने उल्लेख छ। ‘भारतको केन्द्र सरकारले पनि मालवस्तु ढुवानी सहजीकरण गर्नु भनेको छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘तर त्यसविपरीत प्रदेश सरकारले सीमा बन्द गराएको जानकारी आएको छ, अब खुलाउने प्रयास गर्छौँ।’
मेची नाका बन्द भएको जानकारी पाएपछि दाहालले अर्थमन्त्री, अर्थसचिव र वाणिज्य सचिवलाई यसको जानकारी गराइसकेका छन्। वाणिज्यले नाका खुलाउन पहल अघि बढाउने छ।
मेचीनगरका जनप्रतिनिधिकै दबाब
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै केही दिनअघि मेचिनगर नगरपालिकाका प्रतिनिधि भन्सार पुगेर वैदेशिक व्यापार बन्द गर्न दबाब दिएका थिए। उनीहरुले भारतबाट सामान भित्र्याउँदा रोग संक्रमणको पनि डर बढेको भन्दै भन्सार बन्द गर्न दबाब दिएका हुन्।
स्थानीय जनप्रतिनिधिको दबाबकाबीच चलिरहेको भन्सार भारतले आयात–निर्यात रोकिदिएपछि बन्द भएको छ।
के हुन्छ भन्सार बन्द हुँदा?
चालु आर्थिक वर्षको चैत महिनामा ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भन्सार विभागले राखेको थियो। गत वर्ष २७ अर्ब रुपैयाँ राजस्व संकलन भएकाले यो वर्ष केही धेरै रकम उठ्छ भन्ने अनुमानका आधारमा यो लक्ष्य राखिएको थियो।
लकडाउन हुनुअघि अर्थात् चैत १० गतेसम्म भन्सारले दैनिक १ अर्ब रुपैयाँ राजस्व उठाइरहेको थियो। अर्थात् १० दिनमा १० अर्ब रुपैयाँ राजस्व उठेको थियो। तर त्यसपछिको २० दिनमा जम्मा २ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।
‘व्यापार बन्द हुनु भनेको देशको मुटु बन्द हुनु हो,’ महानिर्देशक दाहाल भन्छन्, ‘अहिले त्यही अवस्था आउन लाग्यो।' भारतले नाका बन्द गरिदिएपछि नेपाल आउन लागेका करिब १५० ट्रक भारतीय भूमिमा रोकिएका छन्।’
तीमध्ये एलसी खोलिएका गाडीको बैंकमार्फत् गन्तव्य परिवर्तन गराउने र ड्राफ्ट टिटीमार्फत् आएका सामान वाणिज्य विभागमार्फत् गन्तव्य परिवर्तनको तयारी गरिएको दाहालले जानकारी दिए।
अन्यत्र फैलिने जोखिम
भन्सार विभागले यो समस्या अन्यत्र फैलिन सक्ने जोखिमका रूपमा विश्लेषण गरेको छ। मेची नाकामा जस्तै समस्या वीरगञ्ज, विराटनगर र भैरहवामा आए त्यसले नेपालको अन्तर्राष्ट्रिय व्यापार नै ठप्प पार्ने भएकाले समयमै समस्या पार्ने विभागको बुझाइ छ।
‘अहिले मेचीमा देखिएको समस्या यस्तै कुनै बहानामा अन्यत्र फैलियो भने हाम्रो व्यापार बन्द हुन्छ,’ दाहाल भन्छन्। मेचिनगर तुलनात्मकरूपमा कम व्यापार हुने नाका हो। यस्तै समस्या अन्यत्र फैलिए नेपालको विदेशी व्यापार ठप्प हुन्छ।
‘सरकारले मानिसको आवातजावत रोके पनि मालवस्तु ओसारपसार नरोकिने स्पष्ट पारिसकेको अवस्थामा स्थानीय तह वा प्रदेशले त्यसको समन्वय नगर्नु दुखद हो,’ दाहालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।