काठमाडौं- प्रधानमन्त्रीले भनिरहेका छन्- यो भावुक हुने समय होइन। तर दुई छाक खानै मुस्किल भएर लकडाउन पालना गर्न नसकेका नागरिकको दुःख वालुवाटारबाट सायद देखिएको छैन। होइन भने त विकल्पविहीन भएर हिँडेरै घर जान तयारले प्रहरीको लाठी खानुपर्ने थिएन। भोको पेटमा ‘लाठीको स्वाद’ झनै कडा लाग्दो रहेछ।
शान्त भएर पटुका कसेर कोठाभित्रै सुतिरहन नसकेकैले होला उनीहरु सयौँ किलोमिटर पैदल हिँडेर आफ्नै थातथलो फर्कन लागिपरेका। लकडाउनमा रहेको सरकारले भावुक नहुन भनिरहँदा पनि सडकमा बेहाल देख्नेको मन सम्हालिन सक्दैन। प्रश्न सोध्न बर्जित जस्तो यो समयमा प्रश्न अझ कडा बनेको छ- ‘रोगको चिन्तामा भोक कसरी बिर्सने?’
भोको पेटमा सरकारको कुरा मानेर लकडाउन पालना गर्न बर्दियाकी ठुँची थारुलाई जस्तै समस्या हुनेहरु अहिले बढिरहेका छन्। बास भएको ठाउँमा गास छैन, गास मिल्ने ठाउँमा बास छैन। कोठामा भएको चामलतामल सकियो, कति दिन भोकै बस्नु? यसैले ठुँची ललितपुर धापाखेलबाट हिँड्दै बर्दिया जान बुधबार दिउँसो चार बजेतिर कलंकी पुगेकी थिइन्।
कलंकी पुगेपछि उनमा आश जागेको थियो- ‘मेरो दुःख देखेर सरकारले ट्रक चढाएर पठाइदेला।’ तर ठुँचीलाई ट्रक चढाइदिन होइन त्यहाँ सरकारको उपस्थिति उनीहरुको बाटोमा तगारो बन्न मात्र थियो। साथ दिन थिएन।
ठुँची जस्तै सँगसँगै रहेका झण्डै ५० जनाले बुधबार बेलुकी हिँडेर घर जाने सोच पूरा गर्न सकेनन्। प्रहरीले लाठी हानेर उनीहरुलाई आएकैतिर फर्कायो। बेहाल उनीहरु सडकपेटीमा अझै पनि घर पठाइदिने ‘सरकारको ट्रक’ पर्खिरहेका थिए। बिहीबार बिहानसम्म पनि पर्खिरहेकै छन्।
ठुँचीलाई नै त अझ खुट्टामा समस्या छ। लकडाउनअघि त्यसैको उपचारका लागि उनी काठमाडौं आएकी थिइन्।
‘औषधी गराउन पनि पाइनँ, मेरो उपचार गर्ने डाक्टर नै भेट्न सकिनँ। मेरो खुट्टा असाध्यै दुख्छ बाबु’ उनले सुनाइन्। प्रधानमन्त्रीले भावुक हुने समय होइन भनेको ठुँचीले सायद सुनेकी छैनन्। होइन भने उनले सडकमा त्यसरी दुःख देखाउने थिइनन्।
‘मेरो त यहाँ नागरिकता नभएकाले वडा कार्यालयले दिएको रासन पनि पाइनँ। छोरी ज्वाईंसँग बसिरहेको थिएँ, अब त पैसा पनि सकियो। उनीहरु पनि मजदुरी गरेर नै खाने हुन्। म त हिँडेरै जान पनि मुस्किल छ, बिरामी मान्छे अब सरकारले नहेरे कसले हेर्छ मलाई?’
आश गरौँ, ठुँचीको प्रश्नबाट सकिएको दुःखेसोको जवाफ सरकारले सोचिरहेकै होला। अझै ढिला नहोस्।
०००
ठुँची नजिकै थिए प्रेमबहादुर चौधरी पनि। दुःख उही- यहाँ सबै सकियो घर जान पाए हुने हो।
प्रेमबहादुरको काखमा सानो नानी मामु भन्दै निरन्तर रोइरहेकी थिइन्। बर्दिया जान लागिपरेको त्यो समूहमा लालाबाला, बुढाबुढी र बढिजसो महिला थिए। आफू जसोतसो सम्हालिएकालाई पनि सन्तानको मन बुझाउन मुस्किल थियो।
यसैले प्रेमबहादुरले भनिरहेका थिए- ‘ट्रकमा पठाइदिनुहुन्छ वा हिँडेरै जान दिनहुन्छ, कसरी पठाइदिनुहुन्छ त्यो तपाइँहरुको कुरा, तर यहाँ केही छैन, बाँच्नका लागि पनि घर त पुग्नैपर्छ।’
काम हुञ्जेल र खाने कुरा नसकिँदासम्म प्रेमबहादुरले यसरी सरकार गुहारेका थिएनन्। अहिले त मुस्किल भएरै हो, उनी सडकमा निस्किएका। परिवारको जिम्मेवारी लिएका उनले आफ्नो बारेमा मात्र सोच्न पो कहाँ सकछन् र! होइन भने त कोरोना भाइरस (कोभिड १९) को डर उनलाई पनि छ।
‘पहिले त लकडाउन छिटै खुल्ला भन्ने सोच्यौँ। एक हप्ता, दुई हप्ता भन्दाभन्दै यत्रो दिन बित्यो। पर्खंदा पर्खंदै रासन पनि सकियो। अब बच्चाहरु कसरी पाल्ने? कोठा भाडा कसरी तिर्ने?’, प्रेमबहादुरले एक मेसोमै सबै दुःख सुनाउँदै थिए, ‘वडाबाट पाँच किलो चामल पाएको थिएँ, त्यसले चार दिन त खायौँ। पैसा नहुँदा तरकारी त कसरी खानु, विकल्प नभएपछि अब हिँडेरै घर जान लागेका हौँ। तर हिँडेरै जान पनि पुलिसले लखेटिहाल्यो।’
हुन त प्रेमबहादुरले आफूले मजदुरी गर्ने ठाउँका ठेकेदारलाई पनि नगुहारेका होइनन्। ठेकेदारको जवाफ थियो- ‘कामै नगरी मैले तिमीहरुलाई पैसा कसरी दिनु? मलाई पनि त सरकारले दियो भने त हो।’
खोजिएका विकल्पहरु सबै बन्द भएकाले नै प्रेमबहादुरले हिँडेर बर्दिया जाने विकल्प रोजेका थिए। ठुँचीले जस्तै। ठुँची र प्रेमबहादुरले जस्तै अरु धेरैले।
कति हिँडेरै घर पुगिसके, कति घर पुग्ने बाटोमा नै छन्। तर ठुँची र प्रेमबहादुर भने जान पाएनन्। यसैले प्रश्न गर्न बाध्य भएका हुन्- ‘हामि त दैनिक ज्याला मजदुरी गरेर खाने मानिस अब कसरी बाँच्ने? काम भएन भने त के गरी बस्ने?’
प्रेमबहादुरले कोरोना भाइरस (कोभिड १९) को जोखिम पनि बुझेका छन्। त्यसबाट जोगिन गर्नमिल्ने प्रयास पनि। सरकारले गरेको लकडाउनको निर्णय पनि। तर पनि उनी सडकमा ननिस्कि बस्न सकेनन्। लकडाउनको समय दुई पटक थपिँदासम्म त जसोतसो अडेकै थिए, तेस्रो पटक पनि लकडाउन थपिएपछि भने उनले विकल्प देखेनन्।
‘सरकारले यो लकडाउन नियम गरेको त ठिकै हो तर हामी बिच्चल्लीमा परेकाले गाह्रो भयो। बरु हामीलाई घर जाने व्यवस्था मिलाइदिए हामी त्यहिँ नै क्वारेन्टाइनमा बस्न तयार छौँ अनि घरमै जे पाउँछौँ त्यहि खान्छौँ’ प्रेमबहादुरले भने।
०००
मुस्किलको यो समय सहरको ठाउँमा ठुँची र प्रेमबहादुर जस्ता धेरैले विकल्प देखिरहेका छैनन्। मन नहुँदा नहुँदै पनि पैदलै घर फर्कन सडकमा निस्कन बाध्य छन्। बुढाबुढी र केटाकेटी लिएर कसरी कति दिनमा घर पुगिएला त्यो त थाहा छैन, तर पनि हिँडिरहेकै छन्।
उनीहरु भावुक बनिरहेका हुन् या समस्यामा परेका हुन् सरकारले खुट्याएकै होला। उनीहरुको आश पनि सरकारसँग नै छ। आफ्नै सरकारसँग। आफैले भोट हालेको सरकारसँग।
यदि प्रधानमन्त्रीले भनेजस्तै मानिसहरु बढी नै भावुक भइरहेका हुन् भने पनि अझ बुझिने गरी भनिदिनुपर्यो- अहिले भावुक नभइ कोठामा नै बसिरहनुहोस्, कोरोना कहर सकिएपछि चन्द्रागिरीमा गएर भावुक हुँदै कविता लेखौँला!
भिडियोमा हेर्नुहोस्,
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।