काठमाडौं- बैंकिङ क्षेत्रमा कोरोना भाइरसले पुर्याएकाे क्षति मूल्यांकन गर्ने भन्दै नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले प्रस्तुत गर्नुपर्ने रिपोर्टिङहरु पेश गर्न निर्देशन दिएकाे छ।
सरकारले कोरोना भाइरस (कोभिड- १९)को संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न चैत ११ गतेदेखि मुलकभर लकडाउन गरेकाे छ। लकडाउनका बेला अत्यावश्यक बाहेकका सेवाहरु आवश्यक कर्मचारीमात्रै उपस्थित भई सञ्चालन गर्न र सर्वसाधारणलाई घर बाहिर ननिस्कन सूचित गरिएको थियो।
उक्त व्यवस्थासँगै नेपाल राष्ट्र बैंकले चैत १२ गते निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टीङहरु परिस्थिति सामान्य भई कार्यालय नियमित रुपमा खुलेको ७ दिनभित्र गर्ने व्यवस्था मिलाउनु भनेको थियो। तर, अवस्था अझै सामान्य नभएपछि राष्ट्र बैंकले यस अगाडिको निर्देशन उल्टाउँदै यस्तो निर्देशन जारी गरेको हो।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को प्रभाव मूल्यांकन अध्ययनसमेतका लागि वित्तीय क्षेत्रको तथ्यांकहरु नियमति उपलब्ध हुनुपर्ने हुँदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी अब उपरान्त राष्ट्र बैंकको एकीकृत निर्देशन २०७६ बमोजिम नियमित रुपमा रिपोर्टिङ गर्ने गराउने व्यवस्था मिलाउन सूचना जारी गरेको छ।
नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पदबहालीपछि बैंकिङ क्षेत्रमा कोरोना भाइरसले के कति असर पुर्याएका छ, त्यसको अध्ययन गरेर मात्रै आवश्यक कदम चाल्ने घोषणा गरेका थिए। यसै बमोजिम उनले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुसँग नियमित उपलब्ध हुने तथ्याङ्क माग गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।