काठमाडौं- अन्तर्राष्ट्रिय अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले कोरानो परीक्षण गर्ने भन्दै कतारबाट गैरकानुनी ढंगले नेपाली श्रमिक निष्कासित गरिएको बताएको छ। गत फाल्गनु २९ गते बिहीबार र ३० गते शुक्रबार सयौँ आप्रवासी श्रमिकहरूलाई कतार प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएर नेपाल फर्काएको थियो।
‘कोभिड-१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौं आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौंलाई स्वेच्छाचारी ढंगमा निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले थाहा पाएको छ,’ बुधबार विज्ञप्ति निकाल्दै एम्नेस्टीले भनेको छ।
२० जना नेपाली श्रमिकहरूसँग यो संस्थाले अन्तरवार्ता लिएको थियो। ‘प्रहरीले प्रायः सबैलाई कोभिड–१९ को परीक्षणका लागि लगिन लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर उनीहरूलाई हिरासत केन्द्रहरूमा लगियो र धेरै दिनसम्म त्यहाँ राखेर पछि नेपाल पठाइयो।’
धेरै श्रमिकले आफूहरुलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण समेत नपाएको एम्नेष्टीले जनाएको छ।
‘हामीले कुराकानी गरेका कसैले पनि उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन्,’ एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ ककबर्नले भने, ‘न त उनीहरूले आफ्नो हिरासत र निष्कासनका विरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए। अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नुअघि उनीहरूलाई आफ्नो सर सामान ल्याउने समेत अवसर दिइएको थिएन।’
कोभिड–१९ मानिसलाई स्वेच्छाचरी रूपमा नियन्त्रणमा लिने कुनै बहाना नभएको संस्थाले जनाएको छ। फिर्ता पठाइएका नेपाली श्रमिकलाई परिपूरण उपलब्ध गराउन र उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिन समेत संस्थाले आग्रह गरेको छ।
‘यी व्यक्तिहरूलाई जसरी दुर्व्यवहार गरिएको छ सोबापत अधिकारीहरूले उनीहरूलाई परिपूरण उपलब्ध गराउनुपर्दछ र यदि उनीहरूले चाहेको खण्डमा उनीहरूलाई कतार फर्कन दिनुपर्दछ,’ संस्थाले भनेको छ, ‘साथै उनीहरू कार्यररत रहेका रोजगारदाता कम्पनीहरूले उनीहरूले पाउनुपर्ने पारिश्रमिकलगायतका अन्य रोजगार सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।