इटहरी- प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषदको बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको र अब १५ करोड थप गर्ने निर्णय गरेको हो।
त्यससँगै बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसँग सिफारिस गर्ने र प्रदेशको आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको विधेयक निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो।
क्यान्सर पीडित पत्रकार कमल पौडेललाई ३ लाख रुपैयाँ उपचारका लागि आर्थिक सहायता गर्ने र सोलुखुम्बुको खम्बु पासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई ५ लाख सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए।
त्यस्तै कोरोना प्रभावित तथा पहिचान तथा राहत वितरणसम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रवर्द्धन समिति नेतृत्वविहीन भएको भन्दै त्यस कार्यालय संचालनका लागि चाहिने आवश्यक काम गर्ने निर्णय गरेको कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।