काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन तथा सर्वसाधारणको जिज्ञासाको जवाफ दिन सम्पर्क व्यक्ति तोकेको छ। बैंकले तीन जान वरिष्ठ अधिकारीलाई सर्वसाधारणको जिज्ञासाको जवाफ दिने एवम् सुझाव लिन तथा सेवाग्राहीलाई परेको समस्या सम्बोधन गर्ने गरी खटाएको छ।
राष्ट्र बैंकले रकम जम्मा गर्न वा झिक्न, ऋणको साँवा ब्याज तिर्नेलगायात बैंकिङ कारोबारसम्बन्धी समस्या परे सर्वसाधारणहरुले कार्यकारी निर्देशक देवकुमार ढकालसँग सम्पर्क गर्न सक्ने छन्।
त्यस्तै विप्रेषण, विदेशी मुद्रा सटही, टिटी, प्रतीतपत्र ‘एलसी’ तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरुका सम्बन्धमा बमबहादुर मिश्रलाई सम्पर्क गर्न सकिने जानकारी गराएको छ।
मोबाइल इन्टरनेट बैंकिङ डेबिट तथा क्रेडिट कार्डको प्रयोग एटिएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबार सम्बन्धमा समस्या परेमा सर्वसाधारणले राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न सक्ने जानकारी गराएको हो।
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हामी सबैले घरभित्रै बसी सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाले सर्वसाधारणहरुले बैंक तथा वित्तीय संस्थाहरुमा गई प्रत्यक्ष रुपमा सेवा लिन पाएका छैनन्। यस्तो अवस्थामा सर्वसाधारणलाई परेको असुविधालाई सम्बोधन गर्ने उद्देश्यले तीन जनालाई खटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।