काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वयम्भुमा रहेको बुद्ध बजार प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागले बुधबार गरेको बजार अनुगमनका क्रममा बुद्ध बजार प्रालिले दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी लिएको भेटिएपछि कारबाही गरिएको हो।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को धारा, उपधारा २ क र धारा ३८ विपरित काम गरेको भेटिएकाले कारबाही गरेको जनाएको छ। खाद्यान्नलगायत सामग्रीमा तोकिएको भन्दा बढी मूल्य लिएर सामान बेचेको भन्ने गुनासो आएपछि विभागको टोलीले अनुगमन गरेको थियो। स्थलगत अनुगमनका क्रममा पनि उक्त बजारले बढी मूल्यमा सामान बेचेको भेटिएपछि कारबाही गरिएको हो।
विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि नयाँ बानेश्वरमा रहेको लुम्बिनी इन्टरनेशसन ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।