काठमाडौं- काठमाडाैंकाे पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा २ जनामा कोरोना पोजिटिभ देखिएपछि प्रशासनले उक्त अपार्टमेन्टमा आवतजावत पूर्ण बन्द गरेको छ।
उक्त क्षेत्रमा प्रहरीले अपार्टमेन्टका साथै कोलोनीसमेत बन्द गरेको छ। सोमबार अघि सडकमा एकाध व्यक्ति देखिए पनि मंगलबारदेखि सडकमा हिड्ने समेत देखिएका छैनन्। साेमबार उक्त अपार्टमेन्टमा बस्नेमा काेराेना पाेजिटिभ देखिएसँगै आवतजावतमा प्रतिबन्ध लगाइएकाे हाे।
सोमबारसम्म बिहान ८ बजेसम्म खुल्ने गरेका पसलसमेत मंगलबारदेखि पूर्णरुपमा बन्द गरिएको छ। आइ ब्लकमा बस्दै आएका धर्म सुवेदीले सामान अर्डर गरी ल्याउन पाउने भनिएको तर विधि तय नभएको बताए।
‘लकडाउनको समयमा हिजोसम्म ८ बजेसम्म किनमेलका लागि छुट भएकाले अपार्टमेन्टमा बस्नेहरु निस्कन्थे।’ सुवेदीले भने, ‘अब त बाहिर निस्कने क्रम पनि बन्द भयो। अत्यावश्यक चिज ५/७ दिनलाई पुग्छ होला। त्यसपछि बढी अप्ठ्यारो पर्छ।’
अपार्टमेन्टमा बस्दै आएकाले दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि वैकल्पिक प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन्।
चैत ५ मा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजिटिभ देखिएको थियो। सनसिटीका पाँच ब्लक मध्ये उनीहरु ‘ए’ ब्लकमा बस्दै आएका थिए। संक्रमितहरु चैत ५ गते आएका हुन्।
बेलायतबाट आउनासाथ उनीहरु सेल्फ आइसोलेसनमा बसिरहेका थिए। वडा कार्यालयले सोमबार विदेशबाट आएकाहरुको खोजी गर्ने क्रममा परीक्षण गर्दा संक्रमण देखिएको हो। सुवेदीले भने, ‘संक्रमित देखिएकाहरु पहिलेदेखि नै सचेत थिए।’ उनीहरुकै परिवारमा कार्यरत एक कामदारको परीक्षण भने भएको छैन।
अपार्टमेन्टमा बस्नेहरुको व्यवस्थापनका लागि गठन भएको सनसिटी वेलफेयर सोसाइटीको चैत ८ मा निर्वाचन भएको थियो। सनसिटिको युनिटमा पाँच सय परिवार बस्ने क्षमता छ। त्यसमध्ये चार सय परिवार बरिसरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।