पहिलो पटक डिसेम्बर ३१ मा उहिलेको भाइरसले निमोनिया भएको बारेमा समाचार आयो। सो संक्रमण बढ्दै जाँदा १० दिनपछि चीनमा ६१ वर्षीय मानिसको मृत्यु भएको खबर आयो। त्यतिबेला ‘ए त्यस्तो भएछ!’ भन्ने भयो, खासै मतलब भएन। त्यसको १० दिनपछि अमेरिकाको वासिङ्टन राज्यमा सोही रोगबाट मृत्यु भएको खबर पढेपछि पो झसङ्ग भइयो।
के खालको निमोनिया रहेछ भनेर हेर्न मन लाग्यो। गुगल सर्च गरें। थाहा भयोकोरोना नामको भाइरसले गराएको निमोनिया रहेछ। त्यो हप्ता लगातार चीनमा मर्नेको संख्या बढेको, बन्द गरेको, कर्फ्यु लगाएको जस्ता समाचार पढियो। लाग्यो कि-भयंकर नै भएछ।
अनि यसो सम्झें-नेपाल त चीनसँग जोडिएको छ। नेपालतिर पनि केही भयो कि भनेर समाचार हेरें। चीनको उहानमा रहेका नेपालीलाई उद्दार गर्न नेपाली जहाज पठाउनेबारे निर्णय हुनलागेको रहेछ। नेपालमा राम्रो निर्णय हुँदै गरेको समाचारले केही सन्तुष्टि भयो। तर यता नौ सय माइल टाढाको वासिङ्टन राज्यबाट हामी बसेको क्यलिफोर्निया राज्यमा त्यो भाइरसको रोग आइपुग्यो भने के होला भन्ने त्रासले मेरो मनमा डेरा जमायो।
जनवरी र फेब्रुअरी महीनामा कोरोना रोगको प्रकोप चीन र युरोपियन मुलुक इटालीमा फैलिरहेको कुरा जानकारीमा आइरह्यो। त्यो समयमा अमेरिकामा खासै वृद्धि भएन।
फेब्रुअरीको अन्तिम साता, म बसेको राज्य क्यलिफोर्नियामा पहिलो कोरोना भाइरसको संक्रमण देखियो। त्यसपछि सार्है डर लाग्न थाल्यो। कति चाँडो यो भाइरस जताततै सरेको भन्ने लाग्यो। यही बीचमा कोभिड-१९ भनेर नामाकरण भएर आयो। मलाई यो नामाकरण भएको देखेर एकदम खुसी लाग्यो। मेरो काममा पनि सबैजनाले कोरोना, कोरोना भनेर कुरा गर्ने गर्थे। कोभिड-१९ भनेको सुन्दा अर्कै कुरा गरेको जस्तो सुनियो। कोभिडको नामाकरण यसरी भएको थियो- को अर्थात् कोरोना, भी अर्थात् भाइरस, र डि अर्थात् डिजिज, १९ अर्थात् २०१९ सालमा सुरु भएको रोग।
जब म बस्ने सहर सान्फ्रान्सिस्कोमा कोभिड-१९ का कारणले मृत्यु भएको सुनियो, म आफैं अत्तालिएको महसुस गरेँ। मेरो अफिसबाट पनि घरै बसेर काम गर्नु, अफिस आउनु पर्दैन भनेर खबर आयो। ल ठिकै छ, घरै बसेर काम गर्न पाइने भयो। एक हप्ता त पुरै घरको घरमै बसें। बाहिर जान आँट पनि आएन। जता हेर्यो त्यतै कोभिडै, कोभिडको कुरा छ। अत्यासै लाग्यो। के हुन लाग्या होला जस्तो लाग्यो। अन्योलै अन्योलको बीचमा बाँचेको अनुभूत भयो।
मार्च ११ मा विश्व स्वास्थ्य संठनले कोभिड-१९ प्यान्डेमिक हो भनेर घोषणा गर्यो।
ठीक त्यसको दुई दिनपछि अमेरिकी राष्ट्रपतिले पनि आपतकाल घोषणा गरे। अमेरिकाको जनस्वास्थ्य हेर्ने संस्था (सिडिसि) बाट पनि सबैलाई घरै बस्नु, हात साबुन पानी र स्यानिटाइजरले धोई राख्नु, अत्यावश्यक कारणले घरबाट निस्किनु परेमा मास्क र पन्जा लगाएरमात्र निस्किनु, बाहिर जाँदा कम्तिमा पनि ६ फिटको दूरी राख्नु भनेर सन्देश आयो। लाग्यो कि घर बाहिर सामान किन्न जाँदा पनि युद्धमा गएको झैं हुने भयो। सबैजना डराएका छन। खै के खै केजस्तो भयो। एक हप्ता पुरै बित्यो। कामबाट खबर आयो, २०२० जुन महिनाको अन्तिमसम्म घरै बसेर काम गर्ने भनेर। दिक्क लागिरहेका बेला अलिकता भए पनि मन प्रफुल्लित भयो।
घर त बसिने भइयो, अब यो समयलाई कसरी उपयोगीमुलक बनाउन सकिएला भन्नेतिर ध्यान जान थाल्यो। एउटा नयाँ काम गर्ने प्रण गरें-अबदेखि प्रत्येक दिन कम्तिमा पनि नेपाली किताबको एक अंश पढ्ने। त्यही सोचअनुरुप ‘महको म’ भन्ने किताबबाट सुरु गरेको छु। एसएलसी जाँच दिएपछि र खासगरी अमेरिका आएपछि छुटेको नेपाली पढ्ने बानीको पुनर्जागरण भएको छ। यो लेखबाट सुरु भएको नेपालीमा लेख्ने कामलाई पनि अब निरन्तरता दिने योजना बनाउँदैछु। त्यो बाहेक, फुर्सदको समयमा कामसॅंग सम्बन्धित थप सफ्टवेयरहरु चलाउन सिक्ने योजना छ।
यो कोरोनाको समस्याले धेरै मानिसहरुलाई मानसिक समस्या नआउला भन्न सकिने अवस्था छैन। म यो मानेमा आफैंलाई भाग्यमानी ठान्छु कि म घरैमा बसेर पनि आफ्नो अफिसको काम गर्न र बैठक भाग लिन सक्छु। यो सुबिधा सबैलाई हुँदैन। अत्यावश्यक सेवामा काम गर्नेहरुलाई आफ्नो ज्यान खतरामा राखेर काम गर्नु परिराखेको हुन्छ।
कोभिड–१९ को डरले सबै घर बसेका छन्। घर बसिरहेका धेरैलाई आफनो जागिर जाने हो कि भन्ने उत्तिकै भय छ। मेरा केही आफन्त र साथीभाइहरुले जागिर गुमाएको थाहा पाउँदा मेरो मन दुखेको छ। यसो सोच्ने हो भने अमेरिकाजस्तो विश्वको शक्तिशाली देशलाई त यो कोभिड–१९ सॅंग लड्न यस्तो गाह्रो भइरहेको छ, नेपालजस्तो सानो र धेरै कम स्रोतसाधन भएको देशमा यस्तै खाले प्रकोप आइपर्यो भने, के अवस्था हुन्छ होला जस्तो लाग्छ।
अहिलेसम्मको प्रकोपको अवस्था हेर्दा, नेपालमा खासै धेरै कोभिड संक्रमण देखिएको छैन। यसले के जनाउँछ भने नेपालले राम्रै सतर्कता अपनाएको छ। तर हामी ढुक्क हुने अवस्था पनि छैन। मैले यसलाई यो मानेमा सकारात्मक रुपमा लिएको छु कि(कोभिडले नेपाललाई माया गरेर पूर्वाधार तयार पार्न समय दिएको हो। यही समयको उपयोग गरी यदि नेपालले आफ्नो स्वास्थ्य सेवालाई चुस्त-दुरुस्त बनाउन सक्यो भने कोभिड मात्र नभई भविष्य आईपर्ने, यसै किसिमका महामारी लगायतका मानवीय सङ्कटको राम्रो सामना गर्न सक्छ भन्ने मलाई लाग्छ।
अमेरिकामा हामी अहिले अन्योलको बीचबाट गुज्रिरहेका छौ। यो लेख लेखिरहँदा, अहिलेसम्म अमेरिकामा पाचॅं लाखभन्दा बढी कोभिड संक्रमित भईसकेका छन् र २३ हजारभन्दा बढीको कोभिड संक्रमणका कारणले मृत्यु भइसकेको छ। समय बित्दै जाँदा र महामारी अझै फैलँदै गएको यो अवस्थामा, बाँच्नु भनेकै ठूलो कुरा होला जस्तो छ। रोग नियन्त्रणमा आइसकेपछि पछि पनि यसले निम्त्याउने आर्थिक र सामाजिक प्रभावहरु त अहिले अनुमानमात्र गर्न सकिन्छ। यो कोभिडको अप्रत्यासित आगमनले जीवनप्रति हेर्ने दृष्टिकोण फरक भएको अनुभूत गर्दैछु।
आशा गरौं-अंग्रेजी नयाँ वर्षसँगै सुरु भएको कोभिड–१९ रोगको महामारी, नेपाली नयाँ वर्षको आगमनसॅंगै विश्वबाटै उन्मूलन हुनेछ।
(हेल्थ डाटा इन्जिनियर आचार्य बहुराष्ट्रिय कम्पनी स्ट्राइकरमा कार्यरत छन्, उनी हेवार्ड क्यालिफोर्नियामा बस्छन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।