भैरहवा–लकडाउनका कारण प्रत्यक्ष मारमा परेका विपन्न नागरिकलाई स्थानीय सरकारले खाद्यान्न सामग्री प्रदान गरिरहेका छन्। तर यो बेला सडकमा रहेका पशुहरु भने भोकै छन्। सडकमा मानिसहरुको चहलपहल न्यून भएपछि सडकमा रहेका कुकुरहरु भोकै छन्।
यही अवस्थालाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा एक संस्थाले त्यस्ता कुकुरहरुलाई खाना खुवाएको छ। ‘आत्मोत्सर्ग’ नामक संस्थाले भैरहवाका सडकमा रहेका एक सय कुकुरलाई मासु, भात, अण्डा र बिस्कुट खुवाएको हो।
नयाँ वर्ष–२०७७ को समेत अवसर पारेर खाना खुवाएको आत्मोत्सर्गका अध्यक्ष प्रतिभा घलेले बताइन् । संस्थाले नेपालका विभिन्न क्षेत्रमा पुगेर कुकुरलाई खाना खुवाउने तथा उनीहरुको हेरचाह गर्दै आएको घलेले जानकारी दिइन्।
खाना खुवाउने अभियानमा महिला नेतृ उमा अधिकारी र सिद्धार्थनगर नगरपालिका १२ का वडा सदस्य कुमार गुरुङले समेत सहयोग रहेको उनले बताइन्।
बालगृहमा सहयोग
नयाँ वर्ष २०७७ को अवसर पारेर समाजसेवी अर्जुनप्रसाद जयसवालले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बाल गृहलाई सहयोग गरेका छन्।
समाजवादी पार्टी सिद्धार्थनगरका अध्यक्षसमेत रहेका जयसवालले बालगृहमा चामल, दाल, चिउरा, भुजा, सोयाबीन, नुन, चाउचाउ, पपकर्न, साबुन लगायतका खाद्यान्न सामाग्री वितरण गरेका हुन्।
नयाँ वर्षको अवसरमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले बालगृहमा खाद्यान्न सामग्री उपलब्ध गराएको उनले बताए। बालगृहमा १९ बालबालिका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।