रोल्पा –एक महिनाअघि भीरबाट लडेर गम्भीर घाईते भएका रोल्पा सुनछहरी गाउँपालिका ५ थनवाङका २४ वर्षीय मनवीर खत्री उपचारका लागि भैरहवा गए। श्रीमती होमा र दाजु लिलवहादुरसहित भैरहवा गएका उनको उपचारमा लामै समय लाग्यो। अस्पतालवाट डिस्चार्ज भएर फर्कँदा कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा थियो।
डिस्चार्जपछि उनी एम्बुलेन्सबाट घर फर्किए। घर पुग्नुअगावै उनलाई स्थानीयले गाउँ छिर्ने अनुमति दिएनन्। कोरोना भाईरसको संक्रमण सर्न सक्ने भन्दै उनीहरुले खत्रीसहित ३ जनालाई १४ दिन क्वारेन्टाइनमा वस्नु पर्ने निर्णय सुनाए ।
खत्रीले गाउँलेको निर्णय मान्नुको विकल्प रहेन। बिरामी खत्री र उनको रेखदेखमा गएका थप २ जना क्वारेन्टाइनमा वस्ने भए। सडक मार्गबाट खत्रीको गाउँ पुग्न झण्डै आधा घण्टा पैदल दुरी पार गर्नुपर्छ। बस्तीदेखि टाढा रहेको सो ठाँउमा घर नभएपछि गाउँलेहरु खत्रीलाई राख्ने क्वारेन्टाइनको खोजीमा निस्किए। क्वारेन्टाइनका लागि कुनै पनि संरचना नभेटेपछि उनीहरु आफंै मिलेर क्वारेन्टाइन निर्माण गरे। गाईबाख्रा बाँध्न प्रयोग हुने गोठ क्वारेन्टाइनको रुपमा तयार भयो।
चर्पीको सुविधासमेत नभएको त्यस गोठमा खत्री परिवार बस्न थालेको ६ दिन भईसकेको छ। चर्पी अभावका कारण उनीहरु जंगलमै खुला ठाउँमा दिसापिसाब गर्न वाध्य छन्। गोठनजिक पाईपद्वारा पानी ल्याइएको छ। उनीहरु त्यही पानी प्रयोग गर्छन्। तीनै जनाले गोठमा खाना पकाएर खाने गरेका छन्।
थनवाङ गाउँमा क्रियाशील नवसिर्जनशील युवा क्लवको अगुवाई र अन्य स्थानीय संस्थाको सहयोगमा खत्री परिवारलाई १ बोरा चामल, २ पोका खाने तेल र २ पोका नुन राहतस्वरुप उपलव्ध गराएको स्थानीय जुनिशकुमार विष्टले जानकारी दिए। लकडाउन भएको ३ हप्ता बित्नै लाग्दासमेत सुनछहरी गाउँपालिकाले राहत नबाँडेपछि स्थानीय युवा क्लवले खत्री परिवारका लागि उक्त राहत उपलव्ध गराएको हो।
‘गाउँमा सामुदायिक भवन, विद्यालय र खाली घर भए पनि विरामी स्वयं त्यहाँ हिडेर जान सक्ने अवस्था नभएको र गाउँलेहरुले पनि कोरोनाको त्रासका कारण गाउँ छिर्न अनुमति नदिएका कारण उनीहरु त्यहाँ वस्दै आएका हुन्,’ स्थानीय पत्रकारसमेत रहेका विष्टले भने ।
खुट्टा भाँचिएर सिकिस्त भएका खत्रीलाई भित्र–बाहिर गर्न निकै मुस्किल पर्छ। यस्तो अवस्थामा नजिक चर्पी नहुँदा झनै समस्या थपिएको एक स्थानीयले बताए। फुसले छाना छाए पनि गोठको अन्य भाग भने खुल्ला छ। गर्मी मौसममा खुल्ला गोठमा सर्प, छेपारोको पनि उस्तै जगजगी हुने गर्दछ। ‘कोरोनाका कारण यस्तो कष्टकर दैनिकी जीउन वाध्य छन् खत्री,’ एक स्थानीयले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।