भैरहवा–पछिल्लो समय सुधारको क्रममा रहेको भैरहवाको भीम अस्पताललाई सुविधासम्पन्न कोरोना डेडिकेटेड अस्पताल बनाइएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तथा जनशक्ति तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।
भौतिक संरचना निर्माणतर्फ अहिलेसम्म ५ बेडको आईसीयु बेड, ३ वटा भेन्टिलेटर र ३० बेडको जनरल आईसोलेसन वार्ड निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन नविन दर्नालले जानकारी दिए।
आउँदो २–३ दिन भित्रमा अस्पताललाई कोरोनाका बिरामी उपचार गर्नेगरी सञ्चालनमा ल्याउने गरी तयारी व्यापक बनाईएको दर्नालले बताए।
उनले कोरोना संक्रमितको उपचारका लागि ६ जना विशेषज्ञ डाक्टर, ८ जना मेडिकल अधिकृत र २५ जना स्टाफ नर्स रहने बताए। अस्पतालमा कोरोनाको आशंका भएका बिरामीलाई आईसोलेसनमा राखेर उपचार गर्नेदेखि कोरोना संक्रमितसम्मको उपचार गरिने अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए।
स्वास्थ्यकर्मीलाई तालिम
कोरोना डेडिकेटेड अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुका लागि आवश्यक तालिम प्रदान दिइएको छ। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालको संयोजनमा भीम अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुका लागि तालिम प्रदान गरिएको हो ।
अस्पतालमा उपकरण र जनशक्ति भए पनि यस्तो खालको महामारीमा सघन उपचार कक्षा सञ्चालनको अनुभव कम भएकाले उपचारका क्रममा आउन सक्ने जोखिम कम गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दर्नालले जानकारी दिए ।
संक्रमित बिरामीको व्यवस्थापन, आइसीयु व्यवस्थापन, स्वास्थ्य सामग्रीको प्रयोग, बिरामीको उपचारका क्रममा आवश्यक सूचना प्रणाली, उपचार प्रक्रियाजस्ता विषयमा प्रशिक्षण दिईएको छ।
डाक्टर तथा नर्सहरुलाई मेडिकल कलेजका एनेस्थेसिया विभागका सहप्राध्यापक डा. पवनपुष्प बरालको संयोजकत्वमा सामान्य चिकित्सा विभागका प्रमुख तथा कोभिड १९ ¥यापिड रेस्पोन्स टिमका प्रमुख रानोमल प्रियानीसहितले तालिम दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।