काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक ६ चैतमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सचिवालय कमिटी बैठक बसेको थियो। त्यसयता सचिवालय कमिटीको बैठक बसको छैन।
कोरोना भाइरसको माहामारीका बेला सरकारका एकपछि अर्को निर्णय विवादमा आएपछि सत्ताधारी दल नेकपाका नेताहरू पार्टीको सचिवालय बैठक बोलाउन बारम्बार आग्रह गर्दै आएका छन्।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनै गरेर बैठक बोलाउन ताकेता गरेका छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा २ पटक ट्विट गर्दै सचिवालय बैठक बोलाउन सार्वजनिक रुपमै माग गरिसके। प्रवक्ता श्रेष्ठले आइतबार ट्विट गर्दै गुटगत वा व्यक्तिगत अस्वस्थ आरोप प्रत्यारोपमा नलागी पार्टीको बैठक बोलाउन माग गरे।
'कोभिड-१९ विरुद्ध सिंगो देश एकताबद्ध भएर लाग्नु नै आजको राष्ट्रिय आवश्यकता हो,’श्रेष्ठले लेखेका छन्, ‘पार्टी भित्रका साथीहरू व्यक्तिगत वा गुटगत अस्वस्थ आरोप प्रत्यारोपमा यसै पनि लाग्नुहुँदैन, यो बेला त झन् हुँदैहुँदैन। पार्टीको बैठक पनि यसैमा केन्द्रित गर्ने हो। तर बैठक बसौं।’
उता सचिवालय सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालय बैठक बोलाउन सार्वजनिक रुपमै माग गरिहेका छन्। खनालले गत शुक्रबार प्रचण्डलाई फोन गरेरै बैठक बोलाउन आग्रह गरेका थिए।
तर, प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउने विषयलाई सुनेको नसुन्यै गर्दै आएका छन्। अर्का अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीले नभनी बैठक बोलाउने आँट गर्न सकेका छैनन्।
चीनबाट ल्याएका मेडिकल सामाग्रीको अनियमिततासँगै प्रधानमन्त्रीका सल्लाहकारसमेत अनुचित कार्यमा जोडिएको भन्दै तत्काल बैठक बोलाउन प्रचण्ड सुझाएका थिए।
पार्टीको उपल्लो निकायको बैठक बस्न नसक्दा सत्ताधारी दलका नेता नै अलमलमा देखिन्छन्। पार्टीको उपल्लो तहका नेता नै एक अर्कामा आरोपप्रत्यारोपमा सक्रिय छन्। कोरोना संक्रमण नियन्त्रणका लागि खरिद भएका मेडिकल सामाग्रीको बदमासीले नेकपाको नेतृत्व विवादित बन्दै गइरहेको छ।
नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको आवश्यकताअनुसार सचिवालय बैठक बस्ने बताए। बाहिर भनिएजस्तो पार्टीमा कुनै समस्या नभएको दाबी उनले गरे।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा पार्टीको विधानअनुसार दुई अध्यक्षको सल्लाहमा आवश्यकताअनुसार बैठक बस्ने बताउँछन्। ‘कोरोना भाइरसको माहामारी कारण देश लकडाउनको स्थितिमा छ,’ थापाले भने, ‘अहिले सचिवालय बैठकभन्दा अन्य विषयमै केन्द्रित हुनुपर्ने समय हो।’यी दुवै नेताको अभिव्यक्तिका आधारमा नेकपाको सचिवालय बैठक तत्काल बस्ने संभावना कम छ भन्न सकिन्छ।
विवादको घेरामा प्रधानमन्त्रीका प्रियहरू
पार्टीमा रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विवादमा त छन् नै, दुवैबीच मनोमुटाव पनि उत्तिकै सार्वजनिक भइरहेको छ। यो बेलामा पार्टीको उपल्लो तहको बैठक बसेर महत्वपूर्ण निर्णय गरेर समस्या समाधान गर्न सक्छ नै।
यति मात्रै होइन, प्रधानमन्त्री निकट समूह नै अहिले विवादको घेरामा छ। मुख्य सल्लाहकार विष्णु रिमाल र आइटी सल्लाहकार असगर अली मेडिकल सामान खरिदमा भएको बदमासी र एक अनलाइनको समाचार अनधिकृत रुपमा मेटाउन लगाएको विवादमा जोडिएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आफै पनि अहिले पार्टीभित्रको एक गुटको पक्षमा अभिव्यक्ति दिन सक्रिय छन्। मेडिकल खरिदको अनियमितताबारे प्रश्न उठ्दा उनी आफ्नै पार्टीका अर्का अध्यक्षको क्यान्टोनमेन्टको अनियमितता उठाएर प्रतिवाद गरिरहेका छन्।
आफ्नाको मायाले चेपुवामा प्रधानमन्त्री
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लागेलगत्तै प्रधानमन्त्री ओलीले प्रचण्डसँगको परामर्शमा जिम्मेवारीबाट मुक्त गरे। महरालाई प्रधानमन्त्रीले हटाउँदा प्रचण्डले केही नबोली चुपचाप ओलीको प्रस्तावमा समर्थन गरेका थिए।
यस्तै तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि ८ फागुनमा राजीनामा दिए। प्रधानमन्त्रीका सबैभन्दा प्रियपात्रका रुपमा चिनिएका बाँस्कोटा प्रचण्डको दबाबसँगै पार्टीका अन्य नेताको प्रेसर थेग्न नसकेपछि जिम्मेवारीबाट मुक्त भएका थिए।
चीनबाट ल्याएका मेडिकल सामग्री खरिदमा भएको अनियमितता प्रधानमन्त्री ओलीका सल्लाहकारहरू मुछिएका छन्। संकटको अवस्थामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रभावकारी काम गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने मत बलियो गरी पार्टीमा उठ्दै आएको छ।
अनिचुति कार्यमा आफ्नै सल्लाहकार मुछिएकाले राजीनामा दिनुपर्ने विषय उठ्न सक्ने देखेर नै ओलीले बैठक टार्दै आएको देखिन्छ। सचिवालयमा ओली अल्पमतमा भएकाले प्रतिकूल निर्णय गर्नुपर्ने अवस्था देखेपछि बैठकको एजेन्डालाई पर धकेलेका छन् प्रधानमन्त्रीले। यस्तै कारोना भाईरस नियन्त्रणमा पार्टीबाट कुनै सहयोग नपाएको भन्दै नेकपा नेताहरु असन्तुष्ट छन्।
कोरोना नियन्त्रण र रोकथामको जस पार्टीलाई नदिई ओलीले आफू एक्लै लिन खोजेका छन्। गत शुक्रबार ओलीले आफूले राष्ट्रको नाममा सम्बोधन नगरी राष्ट्रपतिलाई राष्ट्रको नाममा सम्बोधन गर्न लगाए। उनले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गरेको भन्दै समर्थन गर्न आम जनतालाई आग्रह गरेकी थिइन्।
यसअघि वामदेव गौतमलाई राष्ट्रियसभामा सिफरिस गर्नु पर्ने विषय, एमसीसी संसद्बाट पारित गर्नुपर्ने लगायत विषय भए पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सबै विषय थाती छन्।
सचिवालय बैठक राख्दा आलोचनाको केन्द्रमा सरकार र आफ्ना प्रियहरू पर्ने बुझेरै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली अहिलेको अवस्थामा सचिवालय बैठक बोलाउने मुडमा छैनन्। उनको मुड नभई अर्का अध्यक्ष प्रचण्डले एक्लै सचिवालयको बैठक डाक्ने हिम्मत गर्ने छाँट छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।