काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनबाट अत्यावश्यक मेडिकल सामाग्री ल्याउँदा अनियमितता भएको खबरप्रति चासो व्यक्त गरेका छन्।
विपत्ति र महासंकटका बेला अनियमितता गर्नेलाई कानुनी कारबाही गर्ने विषयमा छलफल हुनुपर्ने नेता खनालले बताएको उनको सचिवालयले जानकारी दिएको छ। नेता खनालले मेडिकल सामाग्री ल्याउँदा अनियमितताबारे पार्टीले पनि स्पष्ट पार्नुपर्ने समेत बताएका थिए।
`मैले भर्खरै अध्यक्ष प्रचण्डलाई फोन गरेर अबिलम्ब बैठक डाक्न भनेको छु। उहाँले सल्लाह गर्छु भन्नुभएको छ,' नेता खनालले नेपाल लाइभसँग भने, `मेडिकल सामग्री खरिदको ठेक्का नेपाली सेनालाई किन दिइयो भन्नेबारे पार्टीले स्पष्ट पार्नुपर्छ।'
मेडिकल सामग्री खरिदमा ठेक्का रद्द र पुनः नेपाली सेनालाई दिइएको ठेक्काका विषमया सचिवालय बैठकमा छलफल हुने समेत उनले बताए।
पछिल्लो समय पनि सेनालाई मेडिकल सामग्री लिने तयारी भएपछि पार्टीभित्रैका नेताहरूले विरोध गरिरहेका छन्। हरेक काममा सेनालाई सहभागी गराउँदा राजनीतिक प्रणालीमा नै असर पर्न सक्ने भएकाले उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।