काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएसँगै बिरामीको संख्या बढ्न सक्ने भन्दै आइसोलेसनमा राख्न सकिने सम्भावित स्थानको खोजी भइरहेको छ। यस्तै सम्भावित स्थानहरूमा रेलका कोचहरू (डिब्बा)लाई लिइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गतसाता २१ दिने लकडाउन घोषणा गरेसँगै रेलसेवा समेत बन्द रहेको छ। रेलसेवा बन्द भएसँगै खाली रहेको रेलको कोचलाई आइसोलेसनको रूपमा प्रयोग गर्न सकिने भारतीय रेलवेज्ले जनाएको ‘द इकोनोमिक्स टाइम्स’ले लेखेको छ।
भरसक विभिन्न स्थानमा रहेका रेलवे स्टेशनमा रहेका २० हजार कोचलाई कोरोना भाइरसका कारण बिरामी भएकालाई आइसोलेनमा राख्न प्रयोग गर्न सकिने जनाइएको छ। त्यसका लागि रेलका कोचहरूलाई केही परिमार्जन भने आवश्यक रहेको औंल्याइएको छ।
२० हजार वटा रेल कोचलाई करिब ३ लाख २० हजार आइसोलेसन बेडको रूपमा विकास गर्न सकिने भारतीय रेलवेज्ले मंगलबार जनाएको हो। तेलंगानामा रहेको साउथ सेन्ट्रल रेलवेजसँगै १६ वटा क्षेत्रका रेलवे स्टेशनमा रहेका कोचलाई आइसोलेसन वार्डका रूपमा प्रयोग गरिनेछ।
तेलंगानाको स्टेशनमा ४ सय ८६ वटा कोचलाई कोरोना भाइरसको उपचारका लागि उपलब्ध गराइएको छ। त्यस्तै सेन्ट्रल रेलवेको मुम्बई हेडक्वाटरको ४ सय ८२ कोचलाई समेत कोरोना भाइरसको बिरामी उपचारका लागि प्रयोग गर्न सकिनेगरी उपलब्ध गराइएको छ।
'२० हजार कोचलाई परिमार्जन गरेर ३ लाख २० हजारवटासम्म आइसोलेसन बेड बनाउन सकिनेछ,' रेलवेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अहिलेसम्म ५ हजार कोचलाई केही परिमार्जन गरी प्रारम्भिक रूपमा क्वारेन्टाइन/आइसोलेसन बनाइसकिएको रेलवेले जनाएको छ।
उक्त ५ हजार कोचलाई प्रयोग गरेर ८० हजार बेडमा रूपान्तरण गरिएको छ। एउटा कोचमा १६ वटासम्म आइसोलेसन बेड बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।