काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको दिनचर्या लकडाउनले बदलिएको छ। मन्त्रालयका काम ह्वात्तै घटेका छन्। प्रशासनिक कार्य नगन्य छ। भेटघाट पातलिएको छ।
लकडाउन अवधिमा उनले नियमित व्यायामलाई विस्तार गर्दै ब्याडमिन्टन खेलसम्म पुर्याएकी छन्। सामाजिक सञ्जाल हेर्छिन्। तर, प्रतिक्रिया जनाउँदिनन्। कविता सुन्न र लेख्न सौखिन तुम्बाहाङ्फेले यसै समयमा कविता लेखनमा पनि समय दिएकी छन्। फूलसँग हुरुक्क हुने उनले गोडमेलमा समय दिने गरेको नेपाल लाइभसँग लकडाउनको दैनिकी बताइन्। थप उनकै शब्दमा:
लकडाउनको अवधि र त्यस अघिको समयको दैनिकमा फरक त पर्छ नै। कामको चापमा कमी भएको जस्तो देखिएको छ। मलाई कामको चाप कम भए जस्तो अनुभूति भएको छैन।
बिहान पाँच बजे आसपासमा उठ्छु। ६ घन्टा नियमित नै सुत्छु। लकडाउनमा मेरो समय अलि फरक ढंगले समय बित्दैछ। बिहान उठेपछि अनलाइन, पत्रिका, एफएममा आएका न्युजहरु हेर्छु/सुन्छु। त्यसो गर्दा गर्दै सात बजिहाल्छ। सात बजेपछि केही समय व्यायाम गर्छु। योगा त गर्दिनँ। सामान्य व्यायाम गर्छु।
लकडाउनपछि मेरो बिहानी रुटिनमा अर्को काम थपिएको छ। ब्याडमिन्टन खेल्न थालेकी छु। साढे ८ सम्म ब्याडमिन्टन खेल्छु। आधा घन्टा जति ब्याडमिन्टन खेल्छु होला। ब्याडमिन्टनले दिनभर स्फुर्ति बढाउने रहेछ भन्ने महसुस भएको छ। शारीरिक व्यायाम पछिसम्म जारी नै रहन्छ। लकडाउनपछि ब्याडमिन्टन भ्याए मात्रै खेलिन्छ होला।
खाली समय किताबै समाएर पढिरहने बानी मेरो छैन। मलाई समय भयो भने फूलको गोडमेलमा लाग्छु। आजभोलि दिउँसो समयमा फूल गोडमेल गर्ने, फूलमा पानी/मल हाल्ने गर्छु। छतमा फूल राखिएको छ। फूलसँगै केही समय बिताउँछु। राती सुत्ने समय मेरो पहिलेको अहिले परिवर्तन आएको छैन। लकडाउनअघि ११ देखि १२ बजेको बीचमा सुत्थेँ। अहिले पनि उस्तै हो।
लकडाउन भएकाले भेट्न आउनेको संख्या खास छैन। आउनेहरूलाई पनि गेटमा पासको व्यवस्था हुनुपर्छ। गाह्रो पनि छ। आउँछु नै भन्नेलाई पनि अलि पछि भेटौं भन्छु। आउजाउको लागि सहज समय नभएकाले भेटघाटको काम न्यून छ। भेट्न आउनेको धेरै काम फोनबाटै हुन्छ।
मुख्यतः मन्त्रालयको काम पहिलेभन्दा धेरै कम छ। मन्त्रालयमा आकस्मिक निर्णय गर्न परे आवश्यक कर्मचारीलाई बोलाउँछु। कोरोनाका कारण लामो मिटिङ गर्नुपर्ने अवस्था पनि छैन। छोटो मिटिङ गरेर निर्णय गर्छौं। मन्त्रालयका कर्मचारीसँग सम्पर्कमै रहन्छु। काम परिहाल्यो भने गरिहाल्ने, र काम परेन भने सबै आआफ्नो घरमा बस्ने गरेका छौं। प्रशासनिक कामको लागि दैनिक काम छँदैछ। पहिले जस्तै मन्त्रालयमै गइरहने, त्यहीँ काम गरिरहने अवस्था अहिले छैन।
लकडाउनअघि मन्त्रालयसँग जोडिएर धेरै फोन आउँथे। अहिले फरक सन्दर्भका फोन आउँछन्। मूलतः कोरोना भाइरसकै सन्दर्भमा रहेर फोन आउँछन्। कोरोनाले ल्याएका समस्या जोडेर अधिकांश फोन आउँछन्। फोन आउने क्रम पहिलेको भन्दा अहिले कम भएको छ।
लकडाउनको समयमा सामाजिक सञ्जाल पनि हेर्छु। स्टाटस लेख्ने, लाइक, कमेन्ट गर्ने मेरो पानी छैन। अरुले के भनेका छन्, त्यसलाई ख्याल गर्छु। तर,प्रतिक्रिया जनाउँदिनँ। केही समय सामाजिक सञ्जालमा पनि खर्च हुने गरेको छ। स्टाटस नलेख्ने, लाइक, कमेन्ट नगर्ने सोचेर नै हो। पदीय जिम्मेवारीले उपयुक्त नलागेर नै त्यसो गरेकी हुँ। पदीय जिम्मेवारीमा बसेको व्यक्ति आफ्नै कार्यप्रति बफादार हुनुपर्छ भन्ने मेरो मान्यता हो। एकातिर पदीय हैसियत, अर्कोतिर कमेन्ट र स्टाटस लेख्न थालियो भने म कहाँ पुग्छु? यस्तै विचारले सञ्जालमा लेख्ने बानी छैन।
उपसभामुख हुँदा पनि मैले सामाजिक सञ्जालमा प्रतिक्रिया गर्ने गरेकी थिइनँ। उपसभामुखको जिम्मेवारीबाट बाहिर निस्केपछि मैले फाटफुट लेख्न पनि थालेँ। मन्त्रालय सम्हालेपछि फेरि लेख्न छोडिदिएँ।
लकडाउनअघि बैठकका लागि अलि समय निकालेर निस्कनुपर्ने हुन्थ्यो। संसदको बैठक बिहानै बस्ने प्रचलन नरहेकाले उपसभामुख हुँदा बिहान छिटो जानु पर्दैनथ्यो। क्याबिनेटको विधेयक समितिको अध्यक्षता मैले गर्नुपर्ने भएकाले कहिलेकाहीँ बिहान पनि हिड्नुपर्थ्यो। हाल लडडाउन भएकाले त्यो समितिको बैठक पनि बस्ने कुरा भएन।
मलाई कविता लेख्न र सुन्न मनपर्छ। लकडाउनको समयमा कविता पनि लेख्न थालेकी छु। कविता यहि समयमा लेख्छु भन्ने होइन। कुनै कुनै बेला फुरे जस्तो लाग्छ। लेख्न बसिहाल्छु। दिमाग खाली भएपछि के गरौं भन्ने हुन्छ। मलाई त्यो बेला कवितामा ध्यान जान्छ। कामको चापको बेलामा लेख्न सक्ने अवस्था हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।