बुटवल- प्रदेश ५ सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई समूह बनाएर नेपाल ल्याइने निर्णय गरेको एक दिन बितिसक्दा पनि कार्यन्वयनमा आउन सकेको छैन। प्रदेश ५ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीमामा अलपत्र पारेका नेपालीलाई समूह बनाएर नेपालमा ल्याउने निर्णय गरेकाे थियाे। तर, नेपाल-भारत सीमानाका सुनौलीमा हिजोदेखि अलपत्र परेकाहरुलाई अझैं नेपाल ल्याइएकाे छैन।
सुनौलीमा भारतका विभिन्न स्थानबाट आएका झण्डै ३ सय जना नेपाली अलपत्र अवस्थामा छन्। उनीहरुलाई भारतीय पक्षले खाना खुवाएर राखेकाे छ। भारतमा लकडाउन भएपनि भारतका विभिन्न स्थानमा काम गर्ने नेपालीहरु आउने क्रम अहिलेसम्म पनि रोकिएको छैन।
बिस्कुट र पानीकै भरमा पैदलयात्रा गरी सीमासम्म आइपुग्दा पनि उनीहरुले नेपाल प्रवेशको अनुमति पाएका छैनन्।
मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने व्यवस्था मिलाउने र उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी सो अवधिभर खानपिनको व्यवस्था गर्न निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।
बैठकले निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने र यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने निर्देशन दिएको थियो। तर, सीमामा रहेका नेपालीहरुको उद्धारको लागि अहिलेसम्म कुनै पहल भएको छैन।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुलाई ल्याउने विषयमा कुनै पहल नभएको बताए। प्रजिअ पन्थले प्रदेश मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका विषयमा आफूहरुलाई कुनै जानकारी नआएको बताए। 'हामीलाई सीमामा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने विषयमा कहि कतैबाट सर्कुलर आएको छैन्,' प्रजिअ पन्थले भने,' 'हामीलाई सर्कुलर नआउँदासम्म हामीले केहि गर्न सक्दैनौं।'
रुपन्देहीमा अहिले १५ वटा क्वारेन्टाइनमा ५५ जना र ६ जनालाई आइसोलसनमा राखिएको छ। आइसोलेसनमा राखिएका एक जना युवाको उपचारकै क्रममा मृत्यु भएको थियाे। तर उनमा काेराेना देखिएकाे थिएन।
लाकडाउनले सुनसान रुपन्देही
सरकारले घोषणा गरेको लकडाउनको मंगलबार आठौं दिन पनि रुपन्देहीका अधिकांश क्षेत्र सुनसान रहेका छन्।
रुपन्देहीका मुख्य बजार र राजमार्ग बन्द रहेका छन्। बजारहरु पनि प्रायः सुनसान छन्। खाद्यन्न, किराना, ग्यास, तरकारी, फलफूलका पसल खुलेका छन्। यस्तै पेट्रोल पम्पहरु खुला रहेका छन्।
तर, भित्रीबस्ती तथा बाटोहरुमा अहिले पनि लकडाउनको पूर्ण पालना भएको छैन। विशेषगरी बुटवलका विभिन्न स्थान तथा भैरहवाको गल्लामण्डी क्षेत्रमा मानिसहरु बाहिर निस्किएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।