काठमाडौं–नेपाल तरुण दलले मातहतका जिल्ला संगठनलाई परिपत्र गरि प्रशासनसँग अनुमति लिएर नियमित क्रियाकलापमा सहजीकरण गर्न निर्देशन दिएको छ।
लकडाउनको अवधिमा नागरिकको जीवन कष्टपूर्ण हुने भएकाले सहजीकरण गर्न निर्देशन दिइएको छ। केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले जिल्ला अध्यक्षहरुलाई गरेको परिपत्रमा बाहिरी मुलकबाट आएका व्यक्तिलाई क्वारेन्टाइनसम्म पुग्ने वातावरणमा सहयोग गर्न भनिएको छ।
सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न र कुनै व्यक्तिलाई समस्या परेको भए समस्या समाधान गर्न पहल गर्न निर्देशन गरिएको छ।
बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान, बस्नको व्यवस्थापनमा सक्रिय भूमिका देखाउन भनिएको छ।
दैनिक उपभोग्य वस्तुको खरिदका क्रममा स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियालाई सहज बनाउने कार्यमा लाग्न निर्देशन दिइएको छ।
ज्यालामजदुरी गरि जीवन निर्वाह गर्नेहरुका लागि आवश्यक सहयोगको पहल गर्न पनि तरुण दलले भनेको छ।
नाकामा अलपत्र परेका व्यक्तिहरुलाई तोकिएको समय क्वारेन्टाईनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउनका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।